नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु

काठमाडौँ । नेपाल मेडिसिटीमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिएको छ ।

पोखरा निवासी ५६ बर्सिया ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् । उनीहरूको प्रत्यारोपण जेठ ८ गते सम्पन्न भएको हो ।

कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपण मध्ये एक पर्दछ भने निकै ठूलो मल्टिडिसिप्लिनरी टोलीको आवश्यकता पर्दछ । प्रत्यारोपण गर्दा कलेजो दाता (डोनर) को झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ता ९रिसिभर० को १३ घण्टा लागेको थियो । भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसँग सहकार्यगरी नेपाल मेडिसिटीका चिकित्सकहरूको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पतालले जनकारी दिएको छ ।

‘हामी उपचारका लागि दुईपटक भारत गएका थियौँ, तर त्यहाँ डाक्टरको परामर्श चित्त बुझेन । बुबालाई जसरी पनि मिर्गौला र कलेजो प्रत्यारोपण गर्नै पर्छ भनेपछि हामी झन् आँतियौँँ र नेपाल नै फर्यौँ’ कलेजो दाता आयुष कार्कीले भने ।

‘नेपालमै विश्वस्तरीय सेवा दिने अस्पताल रहेको थाहा पाएपछि हामी नेपाल मेडिसिटी अस्पतालमा परामर्शको लागि आयौँ र कलेजो प्रत्यारोपण गरेर मिर्गौला जोगाउन सकिन्छ भन्ने बुझेपछि यहीँ प्रत्यारोपण गर्ने निर्णय गरेका हौँ । नेपालमै सम्भव हुने उपचारका लागि हामी भारत धाउनुपर्यो । यदि पहिले नै यहाँ परामर्श लिएको भए हाम्रो समय र पैसा दुवै खर्च हुने थिएन,’ उनले भने ।

‘नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण पहिलो पटक भएको छ । हामीसँग मल्टिडिसिप्लिनरी टिम भएका कारण जटिल शल्यक्रिया सम्भव भएको हो’ अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोले बताए ।

नेपालमा हरेक वर्ष २०० देखि ३०० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ । एम्बेसी अफ नेपाल, डिल्लीका अनुसार सन् २०२३ देखि २०२४ मा मात्र ७० जना भन्दा बढी नेपालीहरूले भारतमा गएर कलेजो प्रत्यारोपण गराएका छन् ।

‘हामीले नेपालीहरू उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्देश्यले नै यो अस्पताल सञ्चालनमा ल्याएका हौँ । त्यसैले यहाँका जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं ।’ ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठका अनुसार बिरामीको कलेजो तथा मिर्गौला दुवै बिग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ ।

‘ईश्वर बहादुर कार्कीको पेटमा पानी जम्ने, बेला बेलामा होस हराएको जस्तो हुने, रगत वान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थियो । उनको कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छाडिसकेको थियो । यस क्रममा उनी नेपालका अन्य अस्पताल र भारतमा पनि दुई पटक प्रत्यारोपणका लागि गएका थिए । उनको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुवै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको सफल कलेजो प्रत्यारोपण भएको छ,’ डा. श्रेष्ठले भने ।

कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको छ ।

‘हामीले बिरामीको शल्यक्रिया गर्नु अघि नै यसमा जोखिम रहेको र पहिले कलेजो प्रत्यारोपण गर्ने र कलेजोको कारण मिर्गौला बिग्रेको हो वा होइन जाँच गरेर मात्र मिर्गौला प्रत्यारोपण गर्ने भनेर सम्झाएका थियौँ । बिरामीले धेरै अस्पतालमा धाइसकेको तथा लामो समय बितिसकेका कारण चुनौतीलाई आत्मसाथ गरी यो प्रत्यारोपण गरेका हौँ,’ कलेजो प्रत्यारोपण सर्जन डा।रामबाबु साहले बताए ।

नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सर्वसुलभ शुल्कमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ । यहाँ कलेजो प्रत्यारोपणसँगै विभिन्न अंगको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जना भन्दा बढिको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको अस्पतालले जनकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =