सरकारले सम्पन्न वर्गको हितलाई मात्र प्राथमिकता दियो: राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको नीति तथा बजेटले गरिब, सुकुम्वासी र मध्यमवर्गीय नागरिकको हितभन्दा सम्पन्न वर्गलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।

४९ जुगेडी किसान संघर्ष दिवस तथा ३५ औँ किसान संघर्ष दिवसका अवसरमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताको महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर सामान्य नागरिकमाथि प्रत्यक्ष आर्थिक भार थपेको दाबी गरे ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत कर वृद्धि गर्ने काम गरेको उनको भनाई छ । उनले सरकारले बजेट उच्च आय भएका र आर्थिक रूपमा सबल वर्गलाई लाभ पुग्ने गरी ल्याएको दाबी गरे । देशभरका लाखौँ सुकुम्वासी परिवार अझै स्थायी बसोबासको समस्या झेलिरहेको उल्लेख गर्दै उनले उनीहरूको माग सम्बोधन गर्न नसकेको आरोप लगाए ।

उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको सरकार छ, भर्खरै अब बजेट ल्याएको तपाईँले देख्नुभएको छ, सामान्य जनतालाई डाइरेक्ट असर पर्ने ५० युनिट भन्दा माथिको बिजुलीमा भ्याट लगाएको छ । त्यो गरिबका लागि अरू भारी थप्ने काम गरेको छ । शिक्षा र स्वास्थ्यमा कर बढाएको छ । विशेषगरी हैसियतदार धनीमानी मान्छेहरूलाई हुने खालका कार्यक्रमहरू ल्याएको छ । उसले भन्न पनि ‘म मध्यमवर्गीयको हितमा चाहिँ छु, गरिब सर्वहारा श्रमजीवीको हितमा छु’ भन्दैन । १३ लाख परिवारले हामी सुकुम्वासी हौँ, हामी बास हाम्रो स्थायी वासस्थानको व्यवस्था छैन भनेर निवेदन दिएका छन् । त्यो भनेको लगभग ५२ लाख मान्छे हो, तिनीहरूलाई राज्यले जनता नै ठानेको छैन । डोजर लगाएर दुःख दिएको छ, अहिले होल्डिङ सेन्टरमा लगेको छ । त्यो जेल हो कि बस्ने ठाउँ हो कि खाने ठाउँ हो कि ? बस्ने कुनै बन्दोबस्त हुन्छ कि कुनै ठेगान छैन । यो खालको अव्यवस्था छ । यही अव्यवस्थामा पनि हामी जति उठ्नुपर्ने हो, हामी उठिरहेका छैनौँ । यति मात्र नभएर अब रास्वपाका नेताहरूको विदेशका यात्राहरू छन्, हाम्रो देश यस्तो ठाउँमा छ, अब भारतलाई पनि रिसाउने बनाउन नहुने, चीनलाई पनि रिसाउने बनाउन नहुने, आफ्ना इच्छा चाहना जेसुकै भएपनि यी दुइटा देश नरिसाउन्, अझ परको त्यो अमेरिका पनि नरिसाओस्, यिनीहरू जम्मै खुसी होस् भनेर हिँड्नुपर्ने खालको हाम्रो भूराजनीतिक स्थिति छ । यी सबै घटनाक्रमले गर्दा हामी अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा छौँ र यो अप्ठ्यारो अवस्था यति मात्रै होइन, अझै थपिनेवाला छ । त्यो भूराजनीतिक स्थितिमा आएको अनेकौँ खालका अप्ठ्यारोले गर्दा हामीलाई अझै अप्ठ्यारोमा पुर्याउन पनि सक्छ ।’

पाण्डेले नेपालको वर्तमान भूराजनीतिक अवस्थालाई पनि चुनौतीपूर्ण रहेको पनि बताए । नेपालले भारत, चीन तथा अमेरिका जस्ता शक्तिराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै कूटनीतिक जटिलता थपिँदै गएको उनको भनाइ थियो । देश आर्थिक, सामाजिक र भूराजनीतिक रूपमा कठिन परिस्थितितर्फ उन्मुख रहेको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =