आरिफको ब्याट र नन्दनको बल चम्किँदा नेपाल विजयी

काठमाडौँ । आरिफ शेखको कीर्तिमानी अर्धशतक र डेब्यु खेलाडी नन्दन यादवको घातक बलिङ प्रदर्शनको मद्दतले नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्समाथि लगातार दोस्रो जित निकालेको छ । स्कटल्यान्डको डन्डीमा भएको रोमाञ्चक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सिरिजमा आफ्नो सानदार प्रदर्शन कायमै राख्यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रनको सम्मानजनक योगफल तयार पारेको थियो । एक समय ४० रनमा २ विकेट गुमाएर संकटमा देखिएको नेपाली पारीलाई आरिफ शेखले आफ्नो ओडीआई करियरकै उत्कृष्ट प्रदर्शन गर्दै उकासेका थिए । उनले ८५ बलमा ७ चौका र २ छक्कासहित अविजित ८४ रनको महत्त्वपूर्ण इनिङ खेले, जुन उनको ओडीआईमा सर्वाधिक व्यक्तिगत स्कोर हो । उनलाई भीम सार्कीले ३५ रन बनाएर राम्रो साथ दिएका थिए ।

२३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले खेलको सुरुवातमा नै १० रन पेनाल्टी स्वरूप पाएर लाभ लिएको थियो । यद्यपि, नेपाली बलरहरूको अनुशासित प्रदर्शनसामु डच ब्याट्सम्यानहरू खुलेर खेल्न सकेनन् । नेपालका लागि ओडीआईमा पहिलो खेल खेलिरहेका नन्दन यादवले आफ्नो ‘स्वप्निल डेब्यु’ मा ९ ओभरमा ३९ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए ।

अनुभवी स्पिनर सन्दीप लामिछानेले पनि ३ विकेट आफ्नो नाममा लेखाए भने ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १-१ विकेट हात पारे । नेदरल्यान्ड्सका लागि वेस्ली बारेसीले सर्वाधिक ३६ रन जोडे पनि अन्य ब्याट्सम्यानहरूले उल्लेख्य साझेदारी गर्न नसक्दा टोली ४९.२ ओभरमा २२० रनमा अलआउट हुन पुग्यो ।

यो जितसँगै नेपालले सिरिजका ४ मध्ये ३ खेलमा जित हासिल गरेको छ । नेपालले यसअघि स्कटल्यान्डसँगको खेलमा मात्र २ रनको झिनो हार बेहोरेको थियो । लिग-२ को अंक तालिकामा नेपाल १६ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ भने पराजित नेदरल्यान्ड्स २३ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =