चीन अटो चोङछिङ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नाडा

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गरेको छ ।
२०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको सङ्क्रमणबारे विश्वव्यापी छलफल गरेको नाडाले जनाएको छ ।
नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टकोरूपमा सहभागिता जनाउदैँ नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरूबारे धारणा राखेका थिए ।
यसै क्रममा नाडाका अध्यक्ष चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाएका थिए । सो कार्यक्रम चीन–आसियान ईभी सहयोग, जसमा दिगो यातायात र विद्युतीय सवारी प्रवद्र्धनबारेसमेत छलफल भएको थियो ।
सो सम्मेलनमा डेलिगेशन संवाद समेत सम्पन्न भएको थियो, जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरूबारे समेत विचार विमर्श गरिएको जनाइएको छ । उक्त सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवर्द्धन गर्ने स्टल समेत राखेको जसमा नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरूको अवस्था र वातावरण, तथा नाडाले आउँदो अगस्टमा काठमाण्डौमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको बताइएको छ ।
यसबारे चिनिया अटोमोबाइल कम्पनीहरूको तर्फबाट समेत उच्च चासो राखिएको थियो । नाडाको उक्त सहभागिताले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवर्द्धन गर्न थप मद्दत पुगेको बताइएको छ । उक्त सम्मेलनमा नाडाको तर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कार्य समिति सदस्य अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल समेतको सहभागिता रहेको थियो ।
नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलोपटक भएको जनाएको छ ।








