रङ्गमञ्चमा रेखाको इन्ट्री

काठमाडौं । करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार रेखा थापा झण्डै साढे दुई दशकदेखि आफू व्यस्त रहेको क्षेत्रभन्दा फरक अवस्थामा आफ्नो दैनिक चारदेखि पाँच घण्टा व्यतित गरिरहेकी छन् ।

‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू भएकी ‘स्टार’ अहिले ठूलो पर्दाको आकाशबाट नाटकको धर्तीमा आफूलाई अभ्यस्त गराइरहेका छन् । अर्थात् उनी आफ्नो अभिनय करियरमा पहिलो पटक मञ्चमा मञ्चित हुदैछन् ।

कान्तिपुर थिएटर, गैरीधारामा आज जेठ १५ गते पहिलो पटक दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित ‘मीरा’बाट डेब्यू हुन लागेको संयोग सुनाउँदा उनी केही कौतुहलतासहितको एउटा फरक उत्साह अनुभूत गरिरहेका छन् ।

नाटकका लागि केही वर्षअघि दुई वटा नाटक गर्ने प्रस्ताव आएको थियो । त्यो लकडाउनको सेरोफेरोमा आएको प्रस्ताव थियो । तर आफ्नो व्यस्त दैनिकीले नाटकका लागि दिनुपर्ने एक डेढ महिनाको समय उनका लागि त्यतिबेला सम्भव थिएन, त्योसँगै उनीलाई नाटकमा गर्छु वा गर्ने भन्ने आत्मविश्वास पनि नभएको उनले बताइन् ।

‘रिहर्सल अनि दैनिक मञ्चनजस्ता कुरा मेरा लागि फरक संसार जस्तो कुरा थियो । समय व्यवस्थापनमा नै समस्या देखेकाले मैले त्यतिबेला चासो दिइन’, उनले भनिन् । तर यसपटक कसरी उनको मञ्च उक्लने कुरा सम्भव भयो त ? यो सम्भव गराउने काम कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका संचालक प्रकाश पुरीको मुख्य हात रहेको उनको भनाइ छ ।

पुरीले स्क्रिप्ट राइटरका रूपमा रेखा फिल्म्सबाट नै डेब्यू गरेकी हुन् । ‘प्रकाशले नाटकघर सञ्चालन गर्न लाग्नुभएको र म आफैँले उहाँको क्षमता देखेर डेब्यूसमेत गराएकाले उहाँमाथिको विश्वास र समय संयोजन गर्न सक्ने दुवै संयोग मिलेकाले नाटक गर्ने निर्णय गरेँ’, उनले भने । उनलाई यतिले मात्र नभई ‘मीरा’ उपन्यासको कथाले पनि बलियो गरी आकर्षण गर्‍यो ।

‘कथा सुनेपछि १५ दिन ‘मीरा’को जीवन एकपटक जिएर हेरौँ न भनेर हो । मीरा एउटा सच्चा क्रान्तिकारी हो । ऊ भावुक पनि छ । समाज र परिवारका बन्धनले उसलाई कसरी भित्रभित्र खाइरहेको छ र त्यो कुरालाई ऊ कसरी सामना गर्छे भन्ने कुराले मलाई मञ्चमा ‘मीरा’ हुन मन लाग्यो’, उनले भनिन् ।

थापाका अनुसार प्रेमका विभिन्न प्रकारहरू देखिने र तिनमा समाजका विविध कुराको प्रभाव र असर पर्ने गरेको छ । प्रेममा जातका कुरा, समुदायका कुरा, आर्थिक वर्गका कुरा, समाजका कुरा तथा दुई परिवारका द्वन्द्वलगायतका कुराहरूले प्रभाव पार्ने उनी बताउछिन् ।

मीरा’ नाटकमा यसकी शीर्षक पात्र ‘मीरा’को प्रेमकथा हामीले आम रूपमा सोच्दै–हेर्दै–देख्दै–पढ्दै आएको प्रेमकथाहरूभन्दा फरक भएको उनको भनाइ छ । ‘एउटा यस्तो फरक प्रेमकथा छ, जुन तपाईं हामीले झट्टै सोचिहाल्ने वा अनुमान गरिहाल्ने किसिमको छैन । त्यो प्रेमकथामा वास्तविक जीवनकी रेखा थापा थियो भने त्यही प्रकारको विद्रोह गर्न सक्थी ? के उसले त्यो प्रेम गर्न सक्थी ? कसलाई छनोट गर्थी होला ? समाज, परिवार, प्रेमी या प्रेममा कृष्णकी मीराझैँ हुन्थी ? यस्ता प्रश्नको उत्तर यो नाटकमा छ’, उनले भनिन् ।

त्यसैगरी थापाले आफूलाई एउटा विद्रोही अभिनेत्रीका रूपमा हेरिने भए पनि आफूमा ‘मीरा’ पात्रको झैँ विद्रोही नभएको बताइन् । ‘प्रेमको मामिलामा त मैले विद्रोह नै गर्न पाइन । समाजसँग जुन विद्रोह गर्ने रेखा थापा छ, अन्याय अत्याचारविरुद्ध, पात्र त्यस्तै हो तर मीरा अझ बढी सशक्त र विद्रोही हो’, उनले भनिन् ।

यसैगरी नाटकको अभिनय र सिनेमाको अभिनय दुवै अभिनय नै भए तापनि थापाको एक महिनाको अनुभवले उनी यसलाई बिना एक्सन–कटको फिल्म मान्छिन् । ‘दुबैमा प्रयोग हुने त अभिनयका नवरस नै हुन्, तर यसमा एक्सन–कट, टेक–रिटेक भन्ने हुन्न । रिहर्सल पढाइ हो भने मञ्चन त्यसको परीक्षा जहाँ उत्कृष्ट हुनु जरुरी छ, जस्ट पास भन्ने नै हुँदैन’, उनले भनिन्, ‘दर्शकसँग प्रत्यक्ष रहेर गर्ने काम हो । म मेरो पात्रमा सजीव हुनुपर्छ । यसमा भेटेको फरक भनेको शुद्धता, किनकि यसमा एडिटिङ भन्ने हुन्न, भ्वाइस डब भन्ने हुन्न, अलिकति ठूलो स्वरमा बोल्नुपर्छ । एउटै रफ्तारमा बहनुपर्छ ।’

नाटकलाई लिएर उनी अहिले आत्मविश्वासमा छिन् भने यो महिना दिनको अवधिले उनलाई ‘हिरो’ फिल्मबाट डेब्यू हुनुअघिको तयारीका दिनहरूको सम्झना गराइरहेको स्मरण गरिन् । ‘जीवनमा म दोस्रो पटक यसरी अभ्यास गरिरहेकी छु । ‘हिरो’ फिल्ममा डेब्यू हुने भएपछि १६ वर्षकी रेखा थापाले नृत्य र अभिनयको प्रशिक्षण लिएको सम्झना मलाई यतिखेर भइरहेको छ । विश्व बस्नेत (अन्याय फिल्मका नायक) ले अभिनय सिकाउनुहुन्थ्यो भने कमल राईले नृत्यको अभ्यास गराउनुहुन्थ्यो । आज २४ वर्षपछि म फेरि १८ वर्षकी मीरा हुने अभ्यास गरिरहेकी छु । यसमा दुई वटा मीरा छन्– एउटा १७–१८ वर्षकी र अर्को ३५–३६ वर्षकी । मलाई अहिलेको अभ्यासले पहिलाकै ऊर्जा बोकेकी रेखा थापा भएको अनुभव भइराखेको छ । अभ्यास गरिरहँदा पहिलो फिल्ममा डेब्यू गर्दाको अनुभव अहिले मलाई भइरहेको छ ।’

यस्तै, सिनेमामा अभिनय गर्ने रेखा र अब नाटकमा देखिने अभिनेत्री रेखामा फरक अनुभव गरिरहेको उनले बताइन् । ‘यहाँ अझ बढी राम्रोसँग अभिनय गर्न पाइन्छ । एक्सन–कट हुँदैन, पात्रको संवेगसँग बग्नुपर्छ । एउटा लयमा बग्न पाइन्छ । अझ राम्रो प्रस्तुति ‘मीरा’मा हुनेछ भन्ने मेरो विश्वास छ’, उनले भनिन् । आगामी दिनमा नाटकमा पुनः रेखा थापा मञ्चित हुने–नहुने कुरा आफूलाई आउने नाटकका प्रस्तावमा भर पर्ने उनले बताइन् । समय जुर्दा आगामी दिनमा राम्रा कथा भएका नाटकलाई स्वीकार गर्ने उनको भनाइ छ । ‘मेरा लागि रङ्गमञ्च होस् या सिनेमा, अभिनय उत्तिकै सम्मानित र प्रगाढ भएर बसेको छ । त्यसैले नाटकका लागि भविष्यमा पनि म खुला नै हुनेछु’, उनले भनिन् ।

एक महिने नाटक जीवनपछि थापाको नजरमा नाटक एउटा साधना र ध्यानजस्तो भएको अनुभव हुन गएको छ । अब रेखा १५ गतेको पर्खाइमा छिन् । त्यतिखेर दर्शकका लागि आफू एउटा ‘सरप्राइज’ बनेर आउनेमा ढुक्क छन् । यो नाटकले थापालाई धेरै उत्साह भरेको छ । उनी यो नाटकलाई मञ्चबाट बाहिर लाने सोचमा पनि रहेकी छन् । ‘हुनसक्छ यो सिनेमा नै बन्नेछ, तर त्यो नभएमा सिरिजका रूपमा निश्चित रूपमा आउनेछ । मैले यसका लागि निर्देशक सुन्दर धितालसँग कुरा गरिराखेकी छु ।’

कुराकानीका क्रममा साथै रहेका निर्देशक सुन्दर धितालले सुरुमा नाटकका लागि प्रस्ताव गर्न केही हिच्किचाएको भए पनि प्रस्ताव गरिसकेपछि अभिनेत्री थापालाई पूर्ण रूपमा एउटा निर्देशकको कलाकारका रूपमा भेटेको सुनाउछन् ।

निर्देशकका कलाकारका रूपमा उपस्थित भएकाले थापालाई नाटक गराउन सहज भएको र आफूले चाहेको आकारमा नै उनले बताए । ‘मलाई उहाँसम्म पुग्न कठिन थियो सुरुमा, तर कान्तिपुर एकेडेमीमा आएर प्रकाश सरसँग कुरा गरेपछि सरले म उपन्यास पढ्छु भने । उनले ‘दिदी पनि बगाले थापा हो र पात्र पनि, एकपटक कुरा गर्ने हो’ भने । अनि उहाँलाई सोधियो, उहाँले सुन्छु भन्नुभयो । उहाँले मन पराउनुभयो र गर्न तयार हुनुभयो । तर सुरुमा मलाई यो चिज असम्भव लागिरहेको थियो’, उनले भने । नाटक जेठ १५ गते बिहीबारबाट असार ७ गतेसम्म प्रत्येक दिन बुधवार बाहेक ५ः३० बजे मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =