टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को -ओरेशन २०२५’ सम्पन्न, दीप्ती आचार्य क्लब ग्रोथ डाइरेक्टरमा निर्वाचित

दिल्ली । नेपाल र उत्तर भारतलाई समेट्ने टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को प्रतिष्ठित वार्षिक तीन दिने सम्मेलन “ओरेशन २०२५” सफलतापूर्वक सम्पन्न भएको छ । दिल्लीको गुडगाउँस्थित मेरिडियनमा आयोजित उक्त सम्मेलनमा डिस्ट्रिक्ट ४१ अन्तर्गतका ३०० भन्दा बढी टोस्टमास्टर सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।  नेपालकी मुनाल प्रधानले डिस्ट्रिक्ट डाइरेक्टरको रुपमा सम्मेलनको अध्यक्षता गर्नुभएको थियो ।

सम्मेलनको एक महत्त्वपूर्ण आकर्षणको रूपमा सन् २०२५ जुलाईदेखि २०२६ सम्मको कार्यकालका लागि टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ का नयाँ नेतृत्व चयन गरिएको थियो । जसमा नेपालकी होनहार व्यक्तित्व दीप्ती आचार्य क्लब ग्रोथ डाइरेक्टर पदमा निर्वाचित भए । यसैगरी, भारतका गौरव चौधरी डिस्ट्रिक्ट डाइरेक्टर र श्वेतांक शर्मा कार्यक्रम गुणस्तर डाइरेक्टर (प्रोग्राम क्वालिटी डाइरेक्टर) को रूपमा चयन भए ।

सम्मेलनका दौरान टेबल टपिक्स (आशुभाषण) तथा अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताहरू पनि आयोजना गरिएका थिए, जसमा नेपाली प्रतिस्पर्धीहरूले उत्कृष्ट प्रदर्शन गर्दै वर्चस्व कायम गरे । टेबल टपिक्सतर्फ नेपालकी सम्पदा रेग्मी प्रथम स्थानमा विजयी हुँदा साहिल बराल द्वितीय र देवांश तृतीय स्थान हासिल गर्न सफल भए । त्यसैगरी, अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा नेपालकै संस्कृति आचार्यले प्रथम स्थानमा आफ्नो नाम दर्ता गराउँदै उपाधि चुमे भने श्रेया जैन द्वितीय र प्रसन्न श्रेष्ठ तृतीय भए ।

सहभागीहरूको ज्ञान र सीप अभिवृद्धिका लागि सन् १९९९ का विश्व पब्लिक स्पिकिङ च्याम्पियन क्रेग भ्यालेन्टाइनले वक्तृत्वकलासम्बन्धी विशेष तालिम प्रदान गरेका थिए । साथै, प्राध्यापक डा. नीरजा पाण्डेले “नेतृत्वको जीवनमा महत्व” तथा “प्रभावकारी प्रस्तुति” जस्ता महत्त्वपूर्ण विषयमा ज्ञानवर्धक मन्तव्य दिए ।

प्रेरणादायी मन्तव्यहरू, उच्चस्तरीय प्रतिस्पर्धा र नयाँ ऊर्जावान नेतृत्व चयनका साथ टोस्टमास्टर्सका सञ्चार तथा नेतृत्वसम्बन्धी मूल्य मान्यताहरूको उच्च सम्मान गर्दै सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय वक्तृत्वकलामा प्रथम भएकी नेपालकी संस्कृति आचार्यले अब क्षेत्रीय प्रतिस्पर्धामा डिस्ट्रिक्ट ४१ को प्रतिनिधित्व गर्नुहुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =