गृहमन्त्रीको आह्वान– सबै मिलेर विपद् पूर्वतयारीमा जुटौँ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र गैह्रसकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्युनिकरणको लागि पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
मंगलवार बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो आह्वान गरे ।
उनले पूर्वमनसुनको अवस्था रहेकाले मनसुनको बेलामा हुने विपद् जोखिम न्युनिकरण गर्नेबारेका छलफल भएको बताए ।
उनले ¥याफ्टिङ एशोसिएशन र पर्वतारोहण संघ लगायत निजी क्षेत्रसँग छलफल भएको बताए ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले अहिले प्राधिकरण निरन्तर मनसुन प्रतिकार्य योजना बनाउने क्रममा रहेको बताए ।
उनले हिमली क्षेत्रमा उद्धारका लागि र डुबानबाट मानवीय क्षति हुन नदिनका लागि ¥याफ्टिङ एशोसिएशनसँग छलफल गरेको बताए । छलफलमा दुवै संस्थाहरुले सहयोगको प्रतिवद्धता जनाएको बताए ।
उनले यस वर्ष गत वर्षको भन्दा पनि बढी वर्षा हुने र बढी गर्मी हुने अनुमान रहेको बताए । त्यसैअनुसार पूर्वतयारीमा लागेको उल्लेख गरे ।
छलफलमा तीनै सुरक्षा निकायका विपद् हेर्ने अंगका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरुको पनि सहभागिता थियो ।








