बदलिँदो विश्व परिवेशमा नेपालको आर्थिक नीतिमा अलमल छ : सुरेन्द्र पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बदलिँदो विश्व परिवेशमा नेपालले कस्तो आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा अलमल रहेको बताएका छन् ।
नेपाली काँग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित बदलिँदो विश्व परिवेशमा नेपालले अंगाल्नुपर्ने आर्थिक नीति विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विकासमा फड्को मार्नका लागि सरकार ठूलो बनाउनेभन्दा पनि कर्मचारीतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए ।
अहिलेसम्म सरकार बलियो भन्ने मानसिकताले हामीले विकासमा फड्को मार्न नसकेको उनको भनाई थियो ।
परियोजना धितो राखेर ऋण पाउने व्यवस्था नगरेसम्म मुलुकको आर्थिक अवस्थामा सुधार नहुने भन्दै उनले उद्योग र कृषि क्षेत्रलाई कर नलाग्ने व्यवस्था नगरेसम्म यो अवस्था कायम रहने स्पष्ट पारे ।
वर्तमानमा देखिएको आर्थिक समस्याहरु राजश्वबाटै समाधान हुने भएकाले राजश्व प्रणालीलाई परिपक्व बनाउनुपर्नेमा जोड दिए ।








