जापानमा नेपाली विद्यार्थी नबिनाको निधन, शव नेपाल ल्याउन सहयोगको अपिल

काठमाडौं । उज्ज्वल भविष्यको सपना बोकेर विद्यार्थी भिसामा जापान गएकी एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । कैलालीको टीकापुर, बैदी घर भएकी २४ वर्षीया नबिना बोहराको आइतबार दिन जापानको ओसाकामा निधन भएको हो ।
उनी ओसाकास्थित काङ्को बिजनेस स्कुलमा गत अप्रिल २३ तारिखदेखि अध्ययन सुरु गरेकी थिइन् । मृतकका साथीले दिएको बयान अनुसार, नबिनाले कोठामा एक्लै भएको अवस्थामा झुन्डिएर आत्महत्या गरेकी हुन् । जापान पुगेको ३-४ दिनदेखि नै उनलाई ‘होमसिक’ले सताएको र नयाँ परिवेशमा घुलमिल हुन नसकेको बताइएको छ ।
उनले स्कुलसँग परामर्श गरी नेपाल फर्किने मनस्थिति पनि बनाएकी थिइन् । तर, पारिवारिक सल्लाहमा बुवाले ‘१४-१५ लाख रुपैयाँ खर्च भइसकेकोले अहिले नफर्किनू, केही दिनमा बानी पर्छ’ भनेपछि उनी जापानमै बस्न रानी भएकी थिइन् । हाल उनीसँग कुनै काम नभएकोले आर्थिक तथा मानसिक तनावमा रहेको हुन सक्ने अनुमान गरिएको छ ।
मृतक नबिनाका आमाबुबाले छोरीको अन्तिम पटक मुख हेर्ने र आफ्नै परम्पराअनुसार दाहसंस्कार गर्ने इच्छा व्यक्त गर्दै शव नेपाल पठाइदिन अनुरोध गरिरहेका छन् । तर, जापानबाट शव नेपाल ल्याउन करिब १० देखि १२ लाख रुपैयाँ लाग्ने अनुमान छ । उनको अध्ययनरत स्कुलले केही आर्थिक सहयोग गर्ने आश्वासन दिए पनि सम्पूर्ण खर्च व्यहोर्न नसक्ने जनाइएको छ ।
सुदूरपश्चिमेली नेपाली समाज जापानकाअनुसार जापानमै दाहसंस्कार गर्दा पनि ४ देखि ५ लाख रुपैयाँ खर्च हुने देखिन्छ । ‘नबिनाको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ,’ समाजले भनेको छ, ‘यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’
विपतको घडीमा नबिना बोहराको शव नेपाल ल्याउन वा जापानमै दाहसंस्कार गर्नका लागि आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरूले सुदूरपश्चिमेली नेपाली समाज जापानको देहाय बमोजिमको बैंक खातामा रकम जम्मा गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।
बैंक: JP बैंक (युचो बैंक)
खाता नम्बर: 10100-91282921
खातावालाको नाम: パル ワイスタン ネパール ソサイティ ジャパン (फार वेस्ट्रन नेपाल सोसाइटी जापान)








