राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन : राधिका शाक्य

काठमाडौँ । प्रथम महिला राधिका शाक्यले आफूले राजनीति बुझेको तर राजनीतिमा नआउने स्पष्ट गरेकी छन् ।
प्रेस चौतारी नेपालद्वारा आयोजित ‘करुणा’ पुस्तक ‘लेखिका राधिका शाक्यको सम्पादकसँगको संवाद’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी शाक्यले विद्यार्थीकालदेखि नै राजनीतिमा केहीहदसम्म आबद्ध भएको र राजनीतिक व्यक्तित्वसँगको विवाह भएपछि मुलुकको राजनीतिक घटनाक्रमबारे राम्रोसँग बुझ्ने अवसर पाए पनि राजनीति गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारिन् ।
नेपालमा पछिल्ला दिनमा सकारात्मक सोचका साथ काम गर्नेभन्दा नकारात्मक धारणा बनाइ अनावश्यक कुरा काट्ने पक्ष हावी भएको उल्लेख गर्दै उनले भनिन् “देशलाई माया गर्ने एक सामान्य नेपाली नागरिक भएर बस्न चाहन्छु, मातृभूमिप्रति कदापि गद्दारी गर्दिन । अब यो उमेरमा राजनीति गर्न जाने पक्षमा म छैन ।”
प्रथम महिला शाक्यले राजनीतिक अस्थिरताको अफवाह फैलाइ सरकारलाई निर्वाध रूपमा काम गर्न नदिनेहरू हावी हुनु मुलुकको ठूलो समस्या भएको जिकिर गरिन् ।
उनले दिनरात नभनि देश र जनताका पक्षमा काम गर्नेहरूलाई धन्यवादसहित प्रशंसा गर्नुको सट्टा गालिगलौज गरी त्यसैमा रमाउने प्रवृत्ति हावी भइरहे देश कहाँ पुग्ला भनी चिन्ता व्यक्त गरिन् ।








