रविको निवेदन प्रधानन्यायाधीशसहितको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । लामो समयदेखि सुनुवाइ टर्दै आएको उक्त मुद्दा आज भने प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
यसअघि पाँचपटकसम्म लामिछानेको रिट हेर्न नमिल्ने न्यायाधीशहरूको इजलासमा परेकाले सुनुवाइ हुन सकेको थिएन । तर, आजको इजलास हेर्न मिल्ने न्यायाधीशको इजलास भएकाले छटौं पटकमा सुनुवाइको बाटो खुलेको हो ।
सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । तर, सरकारी वकिलको कार्यालयले उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा पुनरावेदन गरेपछि उच्च अदालतले चैत २२ गते लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो । सोही आदेशपछि उनी पुनः पक्राउ परी रुपन्देही कारागारमा थुनामा परेका छन् ।
रिट निवेदनमा लामिछानेले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी तीन दिनपछि मात्र कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग राखेका छन् । साथै, थुनामा पठाउने उच्च अदालतको आदेशसमेत बदर गरिदिन अनुरोध गरिएको छ ।
उक्त मुद्दामा लामिछानेसँगै संलग्न रहेका अर्का प्रतिवादी पूर्व डिआईजी छविलाल जोशी पनि हाल रुपन्देही कारागारमै थुनामा छन् । एउटै मुद्दामा जोशीलाई थुनामा राखिएको भए पनि जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्दै समान आधारमा कारवाहीको माग गरेको थियो ।








