बालेनले दिएको जिम्मेवारी ३ वडाध्यक्षले स्विकारेनन्, रास्वपा मौन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र वडाध्यक्षहरूबिचको विवाद सतहमा आएको छ ।
मेयर बालेन र कार्यपालिका सदस्यहरूको विवादले महानगर अनिर्णयको बन्दी बनेको छ । जसको एक उदाहरण हो– बालेनले दिएको जिम्मेवारी वडाध्यक्षहरूले अस्वीकार गर्नु ।
मेयर बालेनले दिएको जिम्मेवारीलाई ३ जना वडाध्यक्षले अस्वीकार गरेका हुन् । मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन अस्वीकार गरेका हुन् ।
कार्यपालिकाले निर्णय नगरेको भन्दै उनीहरूले यस्तो निर्णय लिएको बताएका छन् । महानगरमा कार्यपालिकाको बैठक नबसेको लामो समय भइसक्यो ।
बालेनले तोकिदिएको जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको भन्दै वडाध्यक्षहरूले जिम्मेवारी बहन नगर्ने निर्णय लिएका हुन् ।
बालेनले सुशासन समितिको संयोजक तोकेका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक तोकिएका वडाध्यक्ष २४ का अध्यक्ष विनोद राजभण्डारीले जिम्मेवारीमा बस्न अस्वीकार गरेका हुन् ।
३ जनाले सामूहिक निवेदनको बोधार्थ उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृतलाई दिएका छन् ।








