भारतलाई निःशुल्क शालिग्राम दिनु गलत : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाएका छन् ।
आईतवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै सांसद गौतमले भारतलाई सित्तैमा शालिग्राम दिन नहुने बताएका हुन् ।
उनले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई थाहै नदिई काँग्रेस र माओवादी नेतृत्वको सरकारले भारतलाई शालिग्राम सित्तैमा दिएको बताए ।
उनले हिरा कसरी बन्छ भनेर अध्ययन अनुसन्धान नगरिकनै बहुमूल्य शालिग्राम सित्तैमा दिनु उचित नभएको टिप्पणी गरे ।
उनले भने, ‘नेपालमा शालिग्राम धेरै छ । जसलाई हिरा भन्छन् । तलबाट ताप र माथिबाट प्रेसर भएपछि कोइला र कोइलाबाट शालिग्राम बन्छ । र शालिग्रामबाट हिरा बनाएर ठूलो आम्दानी लिन सकिन्छ । जहाँ चीनले शालिग्रामबाट हिरा बनाएर फाइदा लिएको छ तर हामी सित्तैमा दिन्छौं । २०७९ माघ ११ गते सरकारले कालीगण्डकी नदीको शालिग्राम भारतलाई दियो । सो शालिग्राम कांग्रेस माओवादी नेतृत्वको सरकारले सित्तैमा दिएको हो ।’








