हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताएकी छन् ।

गत शुक्रबारदेखि जारी सगरमाथा संवादको समापन सत्रमा आज उनले भनिन्, ‘संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तर्राष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ ।’

संवादका निष्कर्षको कार्यान्वयन र लक्षित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक पर्ने उल्लेख गर्दै मन्त्री डा राणाले संवाद एउटा कार्यक्रम मात्र नभई विचारको सङ्गम र साझा जिम्मेवारीको उत्सव भएको बताइन् । उनले भनिन्, ‘सगरमाथाले हाम्रो दृढताको सम्झना गराउँदै अटल उभिएको जस्तै, यो संवादको नतिजाले हामीलाई हाम्रो सङ्कल्पको सम्झना गराओस् ।’

संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उठाइने उनले जानकारी दिइन् । उक्त विषय यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन,संयुक्त राष्ट्रसङ्घको ८० औँ महासभा तथा यसै वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप– ३० लगायत अन्तर्राष्ट्रिय मञ्चमा उठाइने उनले बताइन् । सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने जानकारी परराष्ट्रमन्त्रीले दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =