पोखरा : सेती नदीमा हाम्फालेका युवकको ज्यान जोगियो

पोखरा । पोखरास्थित सेती नदीमा शुक्रबार राति हाम फालेका एक युवालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । पोखरा महानगरपालिका-१० स्थित पृथ्वीचोक नजिकको चाइनापुलबाट नदीमा हाम्फालेका अन्दाजी २१ वर्षीय ती युवकलाई सशस्त्र प्रहरीले करिब ४५ मिनेटको अथक प्रयासपछि उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेश थापाका अनुसार राति ९:३५ बजे घटनाको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नम्बर २४, कालीका गण अन्तर्गतको विपद् व्यवस्थापन टोली तुरुन्तै घटनास्थलमा खटिएको थियो । रोप रेस्क्यू प्रविधिको प्रयोग गरेर उनीहरू पुलबाट करिब १०० मिटर तलको खोंचमा अर्धचेत अवस्थामा फेला परेका युवकलाई सुरक्षितरूपमा उद्धार गर्न सफल भएका थिए ।
उद्धारपछि ती युवकलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ । हालसम्म युवकको परिचय खुल्न सकेको छैन भने उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।








