लोकतान्त्रिक समाजवादलाई मुल आधार बनाएर बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा लोकतान्त्रिक समाजवादलाई नेपालको आर्थिक विकासको आधारभुत मार्गदर्शन सिद्धान्तका रूपमा प्रश्तुत गरिएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई संस्थागत गर्न लोकतान्त्रिक मूल्यमा आधारित समाजवादलाई अपनाइएको उनको भनाइ छ ।
सामाजिक उत्पादनमा आम नागरिकको न्यायपूर्ण पहुँच सुनिश्चित गर्नु नै समाजवादको सार भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अगामी आर्थिक वर्षको बजेट लोकतान्त्रिक समाजवादको आधारमा ल्याइने स्पष्ट पारे ।
संविधानअनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने सरकारको प्रतिवद्धता रहेको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक समाजवादबाट अन्यत्र विचलन हुन नसकिने बताए ।
अर्थमन्त्री पौडेलले संविधानको मौलिक हकहरुको अधिकतम् प्रयोग गर्नसक्ने अवस्था निर्माण गर्न जरुरी रहेको बताए ।
उनले तीन तहको सरकारको बीचमा समन्वय र सहकार्य गरी अगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने दाबी गरे ।








