परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच आज सो ‘साइडलाइन’ भेटवार्ता भएको हो ।
त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
भेटमा मन्त्री डा राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।
नेपाल र भारतबिच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझदारी पत्रमा हस्ताक्षर भएको प्रसङ्ग उल्लेख गर्दै उनीहरूले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्त्वपूर्ण रहेको पनि बताए ।
नेपाल र भारतबिच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरू, औपचारिक बैठक, विविध विषयहरूमा भइरहेका इङ्गेजमेन्टका बारेमा पनि सो बैठकमा कुराकानी भएको थियो ।
साथै जलवायु परिवर्तनको मुद्दा नेपाल र भारतको साझा मुद्दा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि उनीहरूबिच कुराकानी भएको थियो ।
सगरमाथा संवादमा सहभागिताका लागि भारतीय मन्त्री यादव बिहीबार काठमाडौँ आएका थिए ।








