जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको रहेन : आरजु राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको नभएको बताएकी छन् ।
काठमाडौंमा शुक्रवारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले जलवायु परिवर्तनको मुद्दा अब विश्वको समस्या भएकाले यसले सिंगो मानवतालाई नै संकटमा पारिरहेको उल्लेख गरिन् । विश्वव्यापी संकटसँग जुध्नका लागि कुनैपनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएको मन्त्री राणाको भनाइ छ । उनले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको जिकिर गरिन् ।
अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरूको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास गर्न आवश्यक रहेको बताइन् । जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेको भन्दै मन्त्री डा। राणाले इमानदार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्नसक्ने बताइन् ।
मन्त्री डा. राणाले नेपालले हालैका वर्षहरूमा विनाशकारी तथा श्रृंखलाबद्ध गम्भीर मौसमी समस्याहरू भोगिरहेको बताउँदै बाढी र हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति भएको बताइन् ।








