जलवायु परिवर्तनले मान्छेको भाग्य र भविष्य खतरामा पार्यो : परराष्ट्रमन्त्री डा. आरजु

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भविष्य नै संकटमा पार्ने चेतावनी दिएकी छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा सम्बोधन गर्दै मन्त्री राणाले जलवायु संकट अब कुनै एउटा देश वा क्षेत्रको मात्र नभई समग्र मानव जातिको साझा चुनौती बनेको स्पष्ट पारिन् ।
उनले भनिन्, “जलवायु परिवर्तनले मानवताको भविष्यमाथि गम्भीर संकट उत्पन्न गराउँदैछ । यो वैश्विक संकट हो जसलाई एक्लो प्रयासले होइन, सामूहिक ऐक्यबद्धतामार्फत मात्र सामना गर्न सकिन्छ ।”
संवादको उद्देश्य र महत्वबारे स्पष्ट पार्दै उनले सगरमाथा संवादलाई साझा चिन्ताका विषयमा गहिरो विमर्श र समाधान खोज्ने बहसको थलोका रूपमा व्याख्या गरिन् । “यो संवाद ‘वादे वादे जायते तत्वबोधः’ भन्ने आदर्श वाक्यबाट प्रेरित छ, जसले फरक दृष्टिकोण र विचारको आदानप्रदानमार्फत सत्य र समाधानको खोजीमा सहयोग पुर्याउँछ,” मन्त्री राणाले भनिन् ।
नेपाल जस्ता हिमाली देशहरू जलवायु परिवर्तनको असमान भार वहन गर्न बाध्य रहेको उल्लेख गर्दै उनले त्यसलाई ‘गम्भीर जलवायु अन्याय’को संज्ञा दिइन् । “हाम्रा नदी, वन र हिमालहरूको संरक्षक भएर पनि हामी जलवायु संकटको प्रत्यक्ष असर भोग्न बाध्य छौँ । यो गम्भीर अन्याय हो र यसलाई तुरुन्त सम्बोधन गर्नुपर्छ, नत्र ढिलो हुनेछ,” उनले चेतावनी दिइन् ।
उनका अनुसार नेपालमा पछिल्ला वर्षहरूमा बाढी, हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोले विनाशकारी असर पारेका छन् । उनले जलवायु परिवर्तनविरुद्धको संघर्षलाई अस्तित्वको लडाइँको रूपमा चित्रण गरिन् ।
प्रकृतिप्रति सम्मान र माया राख्न सके जलवायु संकटको समाधान सम्भव हुने विश्वास व्यक्त गर्दै मन्त्री राणाले भनिन्, “पृथ्वी मेरी आमा हुन् र म उनको सन्तान हुँ भन्ने भावनाबाट यदि हामी सबैले काम गर्यौँ भने पृथ्वीलाई सुरक्षित बनाउन सकिन्छ ।”
नेपालको सीमित स्रोतसाधनका कारण जलवायु अनुकूलनका योजनाहरू कार्यान्वयन गर्न कठिनाइ हुने बताउँदै उनले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तमा योगदान दिन आग्रह गरिन् । “विश्वले नेपालजस्ता संवेदनशील देशका जोखिमहरू स्वीकार गरी जलवायु न्यायको प्रत्याभूति गर्नुपर्छ,” मन्त्री राणाले भनिन् ।
तीन दिनसम्म सञ्चालन हुने सगरमाथा संवादमा जलवायु परिवर्तन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति, बसाइँसराइ, खाद्य सुरक्षा, मानवीय संकट र विपद् जोखिमजस्ता विषयमा बहस हुने छ । मन्त्री राणाले संवादले यी जटिल समस्याहरूको समाधानका लागि साझा मार्गचित्र निर्माणमा योगदान दिने विश्वास व्यक्त गरिन् ।








