पश्चिमी प्रणालीको प्रभाव : यी प्रदेशमा चट्याङ्गसहित वर्षा

काठमाडौँ । नेपालमा पछिल्ला दिनहरूमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने तराई तथा अन्य भूभागहरूमा मौसम मुख्यतः सफा छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात पनि हुनसक्ने पूर्वानुमान गरिएको छ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना पनि छ ।

महाशाखाले संभावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी चट्याङ्गको जोखिम रहेका स्थानहरूमा सावधानीपूर्वक बस्न, खुला स्थानमा नजान तथा आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा रहन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =