रामेश्वर चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

सुदूरपश्चिम प्रदेशसभाको चौथो ठुलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।
सत्तापक्षीय दल नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी गराउन चौधरीको मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष सिफारिस गरेको हो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गर्न संसदीय दललाई निर्देशन दिनुभएको थियो । संसदीय दलको बैठकले भने अध्यक्षको निर्देशनविपरीत घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो निर्णयपछि पनि आज बसेको अर्को बैठकले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिएको दलका प्रमुख सचेतक इन्दिरा गिरीले जानकारी दिए । उनले भने, “दलमा विवाद हुन्छ, सहमति खोजेर अघि बढ्ने हो ।”
विवादास्पद श्रव्य सामग्री सार्वजनिक भएपछि सो पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहनु भएका लक्ष्मण किशोर चौधरीले हालै पदबाट राजीनामा दिनुभएको थियो । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सो पार्टीका सात जना सदस्य छन् । नेपाली काँग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एकीकृत समाजवादी) का चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् ।








