संसदको हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने परिस्थिति बनाउन सरकारलाई निर्देशन

काठमाडौँ । संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन हुने परिस्थिति निर्माण गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बसेको सङ्घीय संसद्अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
समिति सभापति ठाकुरप्रसाद गैरेले आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा नयाँ संसद भवनमा सञ्चालन होस् भन्ने आफूहरूको स्पीरिट रहेको बताए । उनले सम्झौताअनुसार फिल्डमा कार्यरत रहनुपर्ने मेसिनरी, मेट्रियल र म्यानपावरको दैनिक अनुगमन गर्न, सामग्री तथा गुणस्तरको निरन्तर अनुगमन र त्यसमा देखिएको कमीकमजोरीको तत्काल सुधार गर्नुपर्ने निर्देशन दिन सरकारलाई निर्देशन दिए ।
उनले प्रविधि जडान र इन्टेरियर कार्यको सचिवालयका सम्बन्धित अधिकारीहरूसँग निरन्तर समन्वय र तोकिएको समयमा काम हुने गरी त्यसको अनुगमन गर्न समेत सरकारलाई आग्रह गरे । सभापति गैरेले हरेक महिना कार्य प्रगतिको अन्तिम मूल्याङ्कन र निष्कर्षसहितको १५–१५ दिनको रिपोर्ट तयार गरी समितिलाई समेत पठाउनुपर्ने बताए ।
उनले भने ‘सम्झौताअनुसार फिल्डमा कार्यरत रहनुपर्ने मेसिनरी, मेट्रियल र म्यानपावरको दैनिक अनुगमन, सामाग्री तथा गुणस्तरको निरन्तर अनुगमन र त्यसमा देखिएको कमीकमजोरीको तत्काल सुधार गर्नुपर्ने निर्देशन, प्रविधि जडान र इन्टेरियर कार्यको सचिवालयका सम्बन्धित अधिकारीहरूसँग निरन्तर समन्वय र तोकिएको समयमा काम हुनेगरी त्यसको अनुगमन, हरेक महिना कार्य प्रगतिको अन्तिम मूल्याङ्कन र निष्कर्ष हुने र त्यसमा १५–१५ दिनको रिपोर्ट तयार हुनुपर्ने र समितिमा पठाउनुपर्ने, त्यसले अल्लि जिम्मेवारी बोध होला भन्ने लाग्छ । अहिले जुन परिस्थिति छ, हाम्रो स्पीरिट आउने हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा नयाँ संसद् भवनमा सञ्चालन हुने परिस्थिति बन्नुपर्छ भन्ने हाम्रो स्पीरिट हो ।’
उनले तोकिएको समयमा नयाँ संसद् भवन निर्माण नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ थप गरिएको म्यादमा पनि संसद भवन निर्माण हुनेमा शङ्का व्यक्त गरे ।








