ओसाका वर्ल्ड एक्स्पो २०२५ मा नेपालको लाजमर्दो उपस्थिति

सरकारी अकर्मण्यता कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बेइज्जत : सांसद खनाल

काठमाडौं । प्रतिनिधिसभाका सांसद शिशिर खनालले जापानको ओसाकामा आयोजना भइरहेको ‘ओसाका वर्ल्ड एक्स्पो २०२५’ मा नेपालको लाजमर्दो उपस्थिति प्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारी अकर्मण्यताले अन्तर्राष्ट्रिय स्तरमै नेपालको प्रतिष्ठामा आँच पुगेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खनालले विश्वका १६० भन्दा बढी राष्ट्रहरूले आ-आफ्नो पहिचान, प्रगति र सम्भावनाहरू प्रस्तुत गरिरहेको यस अन्तर्राष्ट्रिय मञ्चमा नेपालले भने समयमै पवेलियन निर्माण सम्पन्न गर्न नसकेको भन्दै सरकारको उदासीनता र ढिलासुस्तीप्रति कडा टिप्पणी गरे ।

जापानी पत्रिका The Asahi Shimbun ले ‘All but one pavilion now open to visitors at Osaka Expo’ शीर्षकमा प्रकाशित समाचार उद्धृत गर्दै खनालले नेपालकै पवेलियन मात्रै अपूर्ण रहेको तथ्य अन्तर्राष्ट्रिय सञ्चार माध्यममै सार्वजनिक हुनु नेपालका लागि अत्यन्त लाजमर्दो विषय भएको बताए । नेपालले कला, संस्कृति, पर्यटन र लगानीका अवसरहरूलाई विश्वसामु प्रस्तुत गर्न सक्ने यो सुनौलो अवसरलाई भुक्तानी विवाद र सरकारी प्रशासनिक कमजोरीका कारण गुमाउनु अत्यन्त दुर्भाग्यपूर्ण रहेको खनालको भनाइ थियो ।

‘करिब २ करोड ८० लाख भन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको यस एक्स्पोमा नेपालले आफ्नो उपस्थिति देखाउन नसक्नु केवल आर्थिक हैसियतको प्रश्न होइन, यो सरकारको प्राथमिकता, कार्यशैली र अन्तर्राष्ट्रिय दायित्वप्रति लिएको हलुका धारणा हो,’ सांसद खनालले भने ।

उनले यति गम्भीर र संवेदनशील विषयमा सरकारको तुरुन्त ध्यान जानु पर्ने आवश्यकता औँल्याउँदै, राष्ट्रिय प्रतिष्ठासँग जोडिएको यस्तो कार्यक्रममा लापरवाही गम्भीर परिणामसहित आउने चेतावनी पनि दिए । ओसाका वर्ल्ड एक्स्पो २०२५ आउँदो अप्रिल १३ देखि अक्टोबर १३ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =