प्रतिनिधिसभा बैठकमा तीन प्रमुख कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
आजको बैठकमा तीन महत्वपूर्ण कार्यसूची समावेश गरिएका छन् । पहिलो कार्यसूचीअनुसार, प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले समितिको वार्षिक प्रतिवेदन, २०८२ पेश गर्ने छन् ।
त्यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले सम्बन्धित समितिको २०८१/०८२ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्ने कार्यक्रम छ ।
बैठकको मुख्य कार्यसूचीका रूपमा, आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्ताव बाहेक) छलफल जारी रहनेछ ।
यसअघि बुधबारको बैठकमा सांसदहरूले आगामी बजेटका प्राथमिकतासम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए ।








