राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेटमा निर्धारण गर्नुपर्छ : सांसद पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेट निर्धारण गरि काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भइसकेपछि थन्किएको बताउँदै उक्त विमानस्थल निर्माण हुनुपर्ने बताए ।
उनले बुढी गण्डकी जलविद्युत आयोजना निर्माण र अन्य जलाशययुक्त आयोजना निर्माणमा बजेटमा ध्यान दिन आग्रह गरे । उनले लामो समयदेखि पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग अधुरो अवस्थामा रहेकाले त्यसलाई पूरा गर्नेगरि बजेट ल्याउन सुझाव दिए । सांसद पाण्डेले प्रधानमन्त्रीले सिंहदरबारबाट रिमोट थिचेर ५ शैंयाका अस्पताल प्रत्येक पालिकामा बनाउने भनेका थिए । उक्त अस्पतालहरू निर्माणका लागि यो बजेट आउनेछ भन्नेमा आफू ढुक्क रहेको बताए ।
उनले भने ‘यो सरकार दुई ठूला पार्टी मिलेर बनेको सरकार हो । त्यसमाथि पनि यो सरकारको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गर्नुभएको छ । यतिबेला निरपेक्ष गरिबीको रेखामुनि रहेका जनता, किसान, मजदुर, हलिया, कमैया, सुकुम्वासी, दलित भूमिहीन समग्रले कम्युनिष्ट पार्टीको नेताले ल्याउने बजेट हाम्रो हितमा ल्याउँछन् कि ल्याउँदैनन् भनेर हेरिरहेका छन् । आजको माग भनेको भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, रोजगारीको सिर्जना हुने, प्रविधिको हर क्षेत्रमा प्रयोग हुने व्यवस्था गर्ने, अन्तर्राष्ट्रियता स्तरको शिक्षा व्यवस्था सुरु गर्नेगरि बजेट आउन आवश्यक छ । तोकिएको पैसा खर्च नहुने राष्ट्रिय महारोगको उपचार खोजेर बजेट ल्याउनुहोला । दैनिक बढिरहेको व्यापार घाटालाई घटाउने उपाय खोज्नुस् । प्रतिफलयुक्त र तत्काल परिणाम दिने योजनाहरूलाई ध्यान दिनुस् । फजुल खर्च घटाउने काममा ध्यान दिनुस् । यी कुराहरू जोडेर बजेट ल्याउनुपर्छ । विज्ञान प्रविधिको प्रयोगलाई व्यापक बनाउनु जरुरी छ । घरमै बसेर आफ्ना समस्याको निवेदन दिने, क्यासलेस सिस्टम सुरु गर्ने यस्ता कुरा कार्यान्वयन गरियो भने नागरिकलाई सुशासनको अनुभूति दिलाउन सकिन्छ । बन पैदावारको प्रयोगको सही सदुपयोग गरिएमा पाँच लाख रोजगारी सिर्जना गर्न सकिन्छ । कृषकलाई यन्त्र उपकरण, ट्रेनिङ दिएर, रासायनिक मल बिउँ, किटनाशक औषधि समयमै कृषकलाई प्रदान गरेर खाद्यान्न, दलहन, तेल, माछामासु, हरियो तरकारी, लसुन प्याज, आलु, अदुवामा आत्मनिर्भर हुने केही निश्चित कार्यक्रम पत्ता लगाउनुपर्छ । कृषि फार्ममार्फत व्यावसायिक खेती प्रवर्द्धन गर्ने कुरा बजेटमा स्पष्टताका साथ आओस् ।’
उनले पर्यटन उद्योगको विकासका लागि निजी क्षेत्रलाई सहभागी गराउनसके लाखौँ रोजगारी सिर्जना र करोडौँ विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।








