घुम्टोमा घण्टाघर : मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग

पर्सा । वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको अब केही दिन मात्र बाँकी छ तर मर्मतसम्भार पूरा भएको छैन ।

गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मतसम्भार चाँडोभन्दा चाँडो सम्पन्न गर्न वीरगञ्जवासीले माग गरेका छन् ।

वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षण घण्टाघर घुम्टोमा छ । मर्मत सम्भारको नाममा यसलाई छोपिएको छ । यहाँ घुम्न आउने पर्यटक यस्तो दृश्यबाट खिन्न भएका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले घण्टाघरको संरचना जीर्ण भएकाले पनि मर्मत सम्भारका लागि केही बढी समय लागेको जानकारी दिए । ‘घण्टाघरको पुरानो संरचना भएकाले मर्मत सम्भारमा केही बढी समय लागेको हो’, उनले भने, ‘हामीले घण्टाघरको संरचना मर्मतसम्भार शीघ्र पूरा गर्न व्यवसायीलाई पनि ताकेता गरिरहेका छौँ ।’

वीरगञ्ज महानगरपालिका पूर्वाधार महाशाखाका इञ्जिनियर गौरव झाले घण्टाघरको बाल्कोनीमा अकासे पानीको उचित निकास नहुँदा घामपानीले बाल्कोनीमा क्षति पुर्याएको जानकारी दिए । ‘घामपानीले पनि घण्टाघरको बाल्कोनीमा ‘क्र्याक’ आइसकेको रहेछ । घण्टाघरमा उठाइएको पर्खालको इँटा पनि खस्न थालिसकेको रैछ’, उनले भने, ‘हामीले घण्टाघरको ‘कोर बिल्डिङ’ नभएर बाल्कोनीको छानालाई फुटाएर फेरि मर्मत सम्भारको काम अघि बढाइरहेका छौँ ।’

इञ्जिनियर झाले घण्टाघरमा देखिएको समस्या पहिचान र लागत ‘इष्टिमेट’ तयार पार्नका लागि केही समय लागेको बताए । ‘घण्टाघरमा भएको क्षतिको विवरण सङ्कलन र समस्या पहिचान गर्न पनि केही समय लाग्यो । त्यसपछि क्षतिपछि मर्मत सम्भारका लागि लागत इष्टिमेट तयार पार्न पनि केही समय लागेको नै हो’, उनले भने, ‘मर्मत सम्भारका लागि आवश्यक पर्ने ‘स्काफोल्डिङ’ बाँध्नका लागि पनि केही थप समय लाग्यो । उचाइमा भएको ठाउँमा काम गर्ने दक्ष प्राविधिक र जनशक्ति खोज्न पनि केही अप्ठ्यारो भएको थियो ।’

इञ्जिनियर झाले अहिले घण्टाघरको मर्मत सम्भारका काम अघि बढिरहेको दाबी गरे । ‘घण्टाघरको अहिले ५० देखि ६० फिटको उचाइमा काम भइरहेको छ’, उनले भने, ‘हामीले सोभन्दा मुनिको संरचनालाई पनि जोगाएर मर्मत सम्भारको काम गर्नुपरेको छ । माथि मेसिन वा द्रुतगतिमा काम गर्दा पनि तल्लो संरचनामा क्षति हुने सम्भावना उच्च भएकाले पनि काम ढिलो भएजस्तो देखिएको हो ।’

इञ्जिनियर झाले घण्टाघरको मर्मत सम्भारको काम सक्न अझै डेढ महिनाभन्दा धेरै समय लाग्ने दाबी गरे । ‘घण्टाघरको बाल्कोनीमा राखिएका छड खिया लागेर क्षति भएको छ’, उनले भने, ‘क्षति भएका छडलाई हटाएर नयाँ छड राखेर मर्मतसम्भार गर्न आवश्यक देखिएको छ ।’ उनले भने, ‘घण्टाघरको बाल्कोनीमा आकाशबाट खसेको पानीको उचित निकासको व्यवस्था नहुँदा पानी चुहिने समस्या देखिएको छ । सोको पनि उचित व्यवस्थापनको काम भइरहेको छ ।’

महानगरले विगत डेढ महिनादेखि घण्टाघरमा स्काफोल्डिङ (खट बाँध्ने, टेका लगाउने) लगायतका काम गरेको थियो ।

अर्कोतर्फ घण्टाघर क्षेत्रमा अत्यधिक सवारीसाधनको चाप हुने भएकाले पनि घण्टाघरलाई चारैतर्फबाट छोपेर काम भइरहेको छ ।

इञ्जिनियर झाले घण्टाघर मर्मत सम्भारको काम जटिल भएकाले पनि केही बढी समय लागेको बताए ।

घण्टाघर मर्मतसम्भार २० लाखको लागतमा निर्माण गर्न लागिएको हो । वीरगञ्ज महानगरले २०८२ असार १० गतेसम्म निर्माण सम्पन्न हुने गरी ठेक्का लगाएको छ ।

वीरगञ्जको घण्टाघर सन् १९७९ फरबरी ८ तारिखमा तयार भएको बताइन्छ । त्यो बेला जापानको योनागो सहरका विद्यार्थीको एकदिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकहरूको कथन छ ।

गत चैत २७ गते नेपालका लागि जापानका राजदूत माएदा तोरु पनि वीरगञ्ज आउँदा घण्टाघरबारे चासो व्यक्त गरेका महानगरपालिकाका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =