पैँतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पुर्जा पाएका थिएनन्

पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् ।
साबिक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पुर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पुर्जा पाएका थिएनन् ।
“आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपरयो”, स्थानीय रामबहादुर दनुवारले भने । उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पुर्जा लिएका हुन् ।
लालपुर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पुर्जा दिलाउन प्रयास गरेका थिए । छब्बीस परिवारलाई नगरप्रमुख खरेलले पुर्जा वितरण गरे । खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पुर्जा बनाई वितरण गरिएको उहाँले बताउनुभयो । “पहिलो चरणमा बनेको पुर्जा २६ जना जग्गाधनीलाई वितरण गरियो, अब पुर्जा बन्न बाँकी जग्गाको जिल्ला मालपोत कार्यालयमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ”, उनले भने ।









