सरकारको १५५ बुँदाको नीति तथा कार्यक्रम दिशाहीन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारको अगामी अर्थिक वर्षको नीति तथा कार्यक्रम राजनीतिप्रति बढ्दो वितृष्णा सम्बोधन नगर्ने टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा अगामी अर्थिक वर्षको नीति तथा कार्यक्रममा भाग लिँदै प्रमुख सचेतक परियारले यस्तो टिप्पणी गरेका हुन् ।

नीति तथा कार्यक्रम आम नागरिकमा देखिएको राजनीतिप्रतिको वितृष्णा हटाउने गरी नआएको उनको भनाइ छ । उनले १५५ बुँदामा आधारित कार्यक्रमले जनतालाई लोकतान्त्रिक प्रणालीप्रति प्रतिबद्ध बनाउने कुनै स्पष्ट दिशानिर्देश नदिएको उल्लेख गरे ।

उनले राजनीतिज्ञप्रति जनतामा वितृष्णा बड्नु सामान्य भएपनि राजनीतिप्रति वितृष्णा बढ्दा व्यवस्थामाथि गम्भीर खतरा हुने धारणा राखे । संविधान कार्यान्वयनका लागि नीति तथा कार्यक्रम निर्णायक माध्यम हुनुपर्ने धारणा राख्दै प्रमुख सचेतक परियारले आगामी बजेटलाई जनताका मौलिक अधिकार कार्यान्वयन गर्ने बलियो हतियारका रूपमा प्रयोग गर्न सरकारलाई आग्रह गरे ।

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा मात्रात्मक विकासबाट गुणात्मक विकासमा फड्को मार्ने कुनै पनि नीति तथा कार्यक्रम आएन । १५५ बुँदामा आएको यो नीति तथा कार्यक्रमले हामीले परिवर्तन गरेको राजनीतिक व्यवस्थाप्रति जनतालाई प्रतिबद्ध बनाउन सक्नुपथ्र्यो । हामी सबैलाई चिन्ता छ सम्माननीय सभामुख महोदय अहिले राजनीतिप्रति वितृष्णा छ । राजनीतिज्ञप्रति वितृष्णा हुनु खासै ठुलो कुरा होइन । तर राजनीतिप्रति नै वितृष्णा हुनु भनेको त्यो सधैँ समाजका विरुद्ध हुन्छ । राजनीतिप्रति वितृष्णा हुनु खास ठूलो कुरा होइन तर राजनीति र व्यवस्थामाथि नै वितृष्णा हुनु भनेको खतरनाक हुन्छ । हामीले भौतिक विकास मात्र होइन समाजको विकास गर्नुपर्दछ । र लोकतान्त्रिक प्रणालीको पनि विकास गर्दै लैजानुपर्दछ । अर्कोतर्फबाट हामीले यो बजेटलाई संविधान कार्यान्वयन गर्ने एउटा बलियो हतियारको रुपमा पनि प्रयोग गर्नुपर्छ ।’

सरकारको नीति तथा कार्यक्रममा कुनै पनि नविन कार्यक्रम समावेश नभएको कारण आजको पुस्ताको प्रतिनिधित्व गर्न नसक्ने उनको जिकिर छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =