भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविराममा सहमत भए : डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भारत र पाकिस्तान पूर्ण र तत्काल युद्ध विराममा सहमत भएको बताएका छन् ।
शनिवार, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा एक पोस्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले लेखेका छन् ‘अमेरिकाको मध्यस्थतामा लामो कुराकानी पछि, म भारत र पाकिस्तान पूर्ण र तत्काल युद्ध विराममा सहमत भएको घोषणा गर्न पाउँदा खुसी छु।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन् कि भारत र पाकिस्तानले विस्तृत मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएका छन् । उनले भने, ‘भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न र निष्पक्ष स्थानमा विस्तृत मुद्दाहरूमा छलफल गर्न सहमत भएका छन् ।’
त्यस्तै पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पनि सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले लेखेका छन् कि ‘पाकिस्तान र भारत पूर्ण र तत्काल युद्ध विराममा सहमत भएका छन् ।’
इशाक दारले भने, ‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन् । पाकिस्तानले सधैँ आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षा चाहेको छ।’








