कम्युनिस्ट आन्दोलनलाई समाजवादी क्रान्तितिर लैजाने अभियानमा छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिवादी संरचना भत्काउँदै समाजवादतर्फको क्रान्तिमा अघि बढिरहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित निर्मल लामा स्मृति दिवस कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अबको बाटो क्रान्तिकारी आदर्श, निष्ठा र समाजवादी रुपान्तरणको हुने स्पष्ट पारे ।

अध्यक्ष दाहालले अहिलेको जटिल राजनीतिक परिप्रेक्ष्यमा वर्ग, विचार र समुदायलाई केन्द्रीत गर्दै क्रान्तिलाई नयाँ धारमा लैजाने संघर्षमा आफूहरू जुटेको बताए । ‘एक पटक फेरि यथास्थिति भत्काउने र समाजवादी क्रान्तितर्फ उन्मुख हुने गतिका साथ हामी अघि बढिरहेका छौं,’ दाहालले भने ।

कार्यक्रममा दाहालले नेताहरुलाई देवत्वकरण गर्ने प्रवृत्तिप्रति पनि आलोचना गरे । उनले भने, ‘हामीले नेतालाई देवता ठान्ने हो भने त्यो गलत हुन्छ । विकृत तरिकाले बुझ्ने हो भने त्यो अझै खतरनाक हुन्छ ।’ उनले प्रत्येक नेता र पार्टीमा कमजोरी हुने कुरा स्वीकार गर्दै त्यस्ता कमजोरीबाट सिकेर अगाडि बढ्न सक्ने नेतृत्व नै महान हुने बताए । ‘महान् लेनिनले भनेझैँ, सीमा र कमजोरी नभएको मानिस र पार्टी अहिलेसम्म जन्मिएको छैन, जन्मिँदैन पनि,’ उनले स्पष्ट पारे ।

अध्यक्ष दाहालले समाजवादी बाटो समाउने प्रयासको विरोधमा प्रतिक्रियावादी र अवसरवादी शक्तिहरू सक्रिय भएको आरोप लगाए । ‘हामीले विचार, मुद्दा र वर्गलाई केन्द्रित गरेर समाजवादी क्रान्तिको बाटो समाउने बित्तिकै हाम्रा विरुद्ध षड्यन्त्र, भ्रम र घेराबन्दी गर्न खोजिएको छ,’ उनले गुनासो गरे ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष दाहालले सबै पार्टी कार्यकर्तालाई विचार र सङ्घर्षप्रति दृढ रहन आग्रह गर्दै समाजवाद स्थापनाका लागि अविचलित रूपमा अघि बढ्नुपर्ने बताए । ‘चुनौतीहरू ठूलो छन्, तर प्रतिबद्धता र दृढताका साथ अगाडि बढ्ने हो भने लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भने ।

निर्मल लामा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेता, केन्द्रीय सदस्य तथा विभिन्न तहका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =