इन्डियन आयल कर्पोरेसनको अपिल- आत्तिनु पर्दैन, आपूर्ति नियमित छ

काठमाडौं । भारत-पाकिस्तान तनावको पृष्ठभूमिमा देशभर पेट्रोल पम्पहरूमा देखिएको भीड र सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई खण्डन गर्दै इन्डियन आयल कर्पोरेशन लिमिटेडले शुक्रवार सार्वजनिक अपिल गरेको छ । इन्धनको कुनै अभाव नरहेको स्पष्ट पार्दै कम्पनीले आम नागरिकलाई शान्त रहन आग्रह गरेको हो ।
इन्डियन आयलले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खातामार्फत एक सन्देश पोस्ट गर्दै भनेको छ, ‘इन्डियन आयलसँग देशभर पर्याप्त इन्धनको भण्डार छ र हाम्रो आपूर्ति लाइनहरू बिना कुनै अवरोध राम्रोसँग चलिरहेका छन् ।’ नागरिकहरूलाई लक्षित गर्दै कम्पनीले भन्यो, ‘आत्तिनु पर्दैन- इन्धन र एलपीजी हाम्रा सबै आउटलेटहरूमा सजिलै उपलब्ध छन् । कृपया अनावश्यक भीडभाड नगर्नुहोस् र शान्त रहनुहोस् ।’
इन्डियन आयलको यो स्पष्टिकरण पेट्रोल पम्पहरूमा लामो लाइन तथा भिडभाड देखिएको सामाजिक सञ्जालका पोस्टहरू र भिडियोहरू सार्वजनिक भएपछि आएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार केही ठाउँमा मानिसहरूले युद्धको आशंकाले गर्दा अत्यधिक मात्रामा इन्धन भण्डारण गर्न थालेका थिए । इन्धन आपूर्ति सञ्जालको स्थायित्वबारे सुनिश्चितता दिँदै इन्डियन आयलले सबै नागरिकलाई संयमित र जिम्मेवार व्यवहार देखाउन आग्रह गरेको छ ।
विश्लेषकहरूका अनुसार, यस्तो परिस्थितिमा अफवाहको असर व्यापक हुन सक्छ र आपूर्ति प्रणालीमा अनावश्यक दबाब सिर्जना गर्न सक्छ । त्यसैले सरकारी कम्पनीको यस्तो अपिल समयमै आएको सकारात्मक पहलका रूपमा हेरिएको छ ।








