नेपाल दर्शक बन्नुहुँदैन, सार्क अध्यक्षको भूमिका देखाऊ : विश्वप्रकाश

काठमाडौँ । भारत-पाकिस्तानबीच चुलिँदो द्वन्द्वका सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल सरकार र नेतृत्वलाई गम्भीर चनाखो बन्न सार्वजनिक आह्वान गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै सार्कको अध्यक्ष मुलुकको हैसियतले नेपालले क्षेत्रीय शान्तिका लागि निर्णायक र स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘आतंकवाद नियन्त्रणतर्फ कडा धारणा राख्दै युद्धको चाँडो अन्त्यको पहल गर्न नेपाल अग्रसर हुनुपर्छ,’ महामन्त्री शर्माले भने, ‘नेपाल युद्धको केवल दर्शक बन्न सक्दैन । यो परीक्षामा हाम्रो नेतृत्वले देशलाई उत्तीर्ण गराउन सक्नुपर्छ ।’

महामन्त्री शर्माले विदेशमा विशेषगरी भारत र पाकिस्तानमा रहेका हजारौँ नेपालीहरू श्रम, अध्ययन तथा व्यवसायमा संलग्न नागरिकहरूको सुरक्षामा प्राथमिक ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । उनले भने, ‘जोखिम क्षेत्रका लागि सूचना र सम्पर्क नेटवर्क स्थापना गर्दै काठमाडौँ, दिल्ली र इस्लामाबादमा सरकारले रेस्क्यू डेस्क निर्माण गरोस्। जोखिममा परेका नेपालीहरूलाई स्वदेश फर्काउने सहजीकरण गर्नु राष्ट्रको पहिलो कर्तव्य हो ।’

त्यस्तै, उनले युद्धले नेपालमा पार्न सक्ने सम्भावित प्रभावबारे सचेत गराउँदै समयमै तयारी गर्न आग्रह गरेका छन् । ‘भारत-पाकिस्तान युद्ध लम्बिएमा आयात, बजार मूल्य, अन्तर्राष्ट्रिय उडान, पर्यटन, बाह्य व्यापार र समग्र अर्थतन्त्रमा गम्भीर असर पर्न सक्छ,’ उनले भने, ‘त्यसलाई सामना गर्न संघीय, प्रदेश र स्थानीय सरकारहरूले उच्चतम तयारीको क्षमता देखाउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =