क्रिकेटमा युवराजको उज्यालो भविष्य (भिडिओ)

काठमाडौं । अछामको चौरपाटी गाउँपालिका–४ पायलस्थित पित्रेना गाउँमा जन्मिएका हुन् युवा स्पिनर युवराज खत्री । सानैबाट निकै मेहनती र अनुशासित युवराजको बाल्यकाल निकै रोचक र सङ्घर्षपूर्ण थियो ।

त्यही संर्घषकै कारण युवराजले अहिले सफलताको उचाइ लिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक स्टुअर्ट लले दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ जनालाई स्थान दिएका छन् ।

जसमा युवा स्पिनर युवराज पनि अटाएका छन् । उनले राष्ट्रिय टोलीबाट खेलिसकेका कयौँ अनुभवी खेलाडीलाई पछि पार्दै दोस्रो चरणमा स्थान बनाएका हुन् । युवराज खत्री गत मंसिरमा भएको यू–१९ एसिया कपदेखि चर्चामा आएका बलर हुन् । १७ वर्षीय लेगस्पिनर खत्रीले आइसिसी यू–१९ विश्वकपको एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले छनोटमा दुई खेलमा नौ विकेट लिएका थिए । त्यसपछि सिनियर टोलीको कोर क्याम्पमा परेका खत्रीले त्यहाँ पनि सिनियर खेलाडीविरुद्ध उत्कृष्ट बलिङ गरे । अछाममा जन्मिएका खत्रीले सुदूरपश्चिमबाट यू–१९ घरेलु क्रिकेट खेलेका छन् ।

उनी काठमाडौं बस्दै आएका छन् । अछाम जस्तो विकट पहाडी जिल्लामा जन्मिएका युवराज सानैबाट मेहनती र लगनशील थिए ।

उनका बुवाले अछाममा गरेको क्रिकेटप्रतिको योगदान पनि स्मरणीय नै छ । त्यही प्रभाव र लगावसँगै युवराजले पनि आफ्नो क्रिकेट यात्रालाई दौडाइ रहे । उनको पुरै गाउँको क्रिकेटप्रतिको लगावले युवराजलाई सानैबाट क्रिकेट प्रेमी मात्रै बनाएन क्रिकेटमै भविष्य छ भन्ने विश्वाससहितको अभ्यास पनि दिलायो ।

उसो त, युवराजले मोजाभित्र कागज भरेर बनाएको बल र जङ्गलबाट हातले बनाएर ल्याएको ब्याटले खेल्दै क्रिकेटको यात्रा सुरुवात गरेका थिए । आज प्राप्त भएको सफलतामा तिनै मोजाका बलको सुगन्ध मगमगाई रहेको छ ।

क्रिकेट बुझेको परिवार, क्रिकेटमा भविष्य खोजिरहेका युवराज र क्रिकेट र पढाइमा कुनलाई जोड दिने भन्ने अन्यौलता र छलफलकै बिच युवराजले क्रिकेट रोजे र अहिले सफलता पाइरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *