आक्रमण घोषित रूपमै हुन्छ : पाकिस्तान

काठमाडौं । भारत अधीनस्थ जम्मु क्षेत्रमा बिहीबार साँझ विस्फोट र साइरन बजेपछि भारत र पाकिस्तानबीच फेरि कूटनीतिक तनाव चुलिएको छ । घटनापछि दुवै देशले एकअर्कामाथि आक्रमणको आरोप लगाउँदै कडा प्रतिक्रिया जनाएका छन् ।
भारतीय सेनाले पाकिस्तानले जम्मु र पञ्जाबस्थित आफ्ना सैन्य आधार शिविरहरूलाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको दाबी गरेको छ । यद्यपि पाकिस्तानले उक्त आरोपलाई अस्वीकार गर्दै आफूहरूले कुनै आक्रमण नगरेको स्पष्ट पारेको छ ।
पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीसँग कुरा गर्दै हाल पाकिस्तान संयमित अवस्थामा रहेको उल्लेख गरे । उनले भने, ‘हामीमाथि आक्रमण भएको भए अथवा हामीले कुनै आक्रमण गरेका भए, हामी आफैंले संसारलाई त्यसको जानकारी दिने थियौं ।’
रक्षामन्त्री आसिफले आक्रमणको अवस्था नआएको तर यदि भारतले सीमा पार गरेर स्पष्ट रूपमा आक्रामक कार्य गर्यो भने पाकिस्तानले प्रतिउत्तरमा घोषित रूपमा आक्रमण गर्ने चेतावनी पनि दिए । उनका अनुसार धेरै मित्र राष्ट्रहरूबाट संयमता अपनाउन आग्रह प्राप्त भएकाले पाकिस्तान अहिलेसम्म संयमतर्फ उभिएको हो ।
जम्मुमा बिहीबार भएको विस्फोट र साइरनबीचको घटनाले भारत-पाकिस्तानबीचको चिसिएको सम्बन्ध पुनः तातिएको छ । यसअघि लगातार दुई रात पाकिस्तानबाट ड्रोन र मिसाइल आक्रमण भएको भारतको दाबी थियो, जुन पाकिस्तानले अस्वीकार गरेको थियो ।








