संविधान र व्यवस्था विरोधी कुनैपनि गतिविधि सह्य हुने छैनन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा हुने कुनैपनि गतिविधि सह्य नहुने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो चेतावनी दिएका हुन् ।
संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनी दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभति दिलाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
उनले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई विध्वंसात्मक घटनाको संज्ञा दिँदै सो सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको बताए ।
उनले प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिई पूर्वाग्रह बिना आवश्यक अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिए ।
राजावादीको तीनकुने प्रदर्शन घटना विध्वंसात्मक र संविधान विरोधि भएको उल्लेख गर्दै मन्त्री लेखकले आइन्दा यस्ता घटना नदोहोर्याउन चेतावनी दिए ।
सांसदहरुद्वारा सदनमा उठाइएका विषयहरुप्रति सरकार गम्भिर र सचेत रहेको पनि मन्त्री लेखकको भनाइ छ ।








