भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुदैँन : सांसद गैरे

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप–प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पारे ।
उनले भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भएपनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ । उनले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको समेत बताए । उनले शिक्षा, निजामती, प्रहरीसम्बन्धी विधेयकहरू यही अधिवेशनबाट पारित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताए ।
उनले भने ‘नीति तथा कार्यक्रमले शिक्षा विधेयक, निजामती विधेयक, प्रहरीसँग सम्बन्धित विधेयक लगायतका विधेयकहरू यसै अधिवेशनबाट पारित गर्ने जुन प्रतिबद्धता व्यक्त गरेको छ त्यो ज्यादै सकारात्मक पक्ष हो । आज भ्रष्टाचार र कमिसनको विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर खुसी व्यक्त गर्ने प्रवृत्ति देखापर्यो । सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबेको साझा रोग हो । यसको अन्त्य गर्नको लागि हामी सबैको सामूहिक प्रतिबद्धताको खाँचो छ ।
एकले अर्कोलाई आरोपित गरेर, एकले अर्कोलाई लाञ्छित गरेर हामी मुक्त हुन सक्दैनौँ । त्यसका लागि सरकारले अघि सारेका कार्यक्रमहरूलाई कार्यान्वयनमा लैजानको लागि योगदान पुर्याउनुपर्दछ । भ्रष्टाचार र कमिसनको कामहरूमा कसैले पनि मुक्त पाउँदैन । जुनसुकै पदको , पार्टीको र ओहोदाको मान्छे भएपनि हामी खरो रुपमा प्रस्तुत हुन जरुरी छ । यसमा सबै एक ठाउँमा आउनुपर्ने जरुरत छ ।’
सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरूको सफल कार्यान्वयनको लागि सबैले सहयोग गर्न जरुरी रहेको उनको भनाइ छ । उनले सरकारले अघि सारेका युवालक्षित कार्यक्रमहरूको सफल कार्यान्वयन गर्नसके बढ्दो युवा पलायन रोक्न सकिने उल्लेख गरे ।








