सरकार निरोगी नेपाल बनाउने महासंकल्पसहित अघि बढ्दैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो राष्ट्रलाई निरोगी बनाउने लक्ष्यसहित सरकार स्वास्थ्य क्षेत्रको महासंकल्पका साथ अघि बढिरहेको स्पष्ट पारेका छन् । काठमाडौंमा बिहीबार कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘निरोगी नेपाल’ सरकारको दीर्घकालीन संकल्प भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले रोग लाग्नै नदिने अवस्थाको सिर्जना गर्नु नै सबैभन्दा प्रभावकारी स्वास्थ्य सुरक्षा हुने बताउँदै त्यसका लागि जीवनशैली, सन्तुलित खानपान र आयुर्वेदिक उपचारप्रति जोड दिनुपर्नेमा जोड दिए । ‘रोग लाग्न नदिन खानपिन सन्तुलित हुनुपर्छ, पेट भर्ने मात्र होइन, स्वास्थ्यका लागि लाभदायक हुनुपर्छ,’ उनले भने ।

उनले रोग र उपचारको समाधान प्रकृतिमै निहित रहेको उल्लेख गर्दै वैज्ञानिक अनुसन्धान र प्रयोगमार्फत यसलाई प्रमाणित गर्दै जानु आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले आयुर्वेदिक चिकित्सा पद्धति प्रभावकारी भए पनि पछिल्लो समय यसको उपयोगमा कमी आएकोप्रति चिन्ता व्यक्त गरे । ‘एलोपेथिक पद्धतिले रोगको उपचार गरिए पनि आयुर्वेदिक उपाय सदियौँदेखि प्रयोग हुँदै आएको छ,’ उनले भने, ‘अहिले अलिकति कमजोर भएको छ, यसलाई अनुसन्धानमार्फत विकास गर्नुपर्छ ।’

कुष्ठरोगसम्बन्धी सम्मेलनको प्रसङ्गमा उनले समयमै रोगको पहिचान गरी लुकाउने होइन, उपचारतर्फ उन्मुख हुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सबै नेपालीको प्रतिरोधी क्षमता बलियो बनाउँदै रोग लाग्ने परिस्थिति नै आउन नदिन राज्यको प्राथमिकता रहनुपर्नेमा पनि स्पष्ट धारणा राखे । ‘हामी निरोगी नेपाल बनाउने संकल्पमा छौँ, नेपालमा कोही पनि रोगी नहोस् भन्ने हाम्रो चाहना हो,’ प्रधानमन्त्री ओलीको स्पष्ट प्रतिबद्धता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *