पाकिस्तानले गर्यो चार स्थानमा गोलाबारी, भारतका तीनवटै सेनाले थाले संयुक्त कारबाही

काठमाडाैं । पाकिस्तानले लगातार दोस्रो रात जम्मु-कश्मीरका कुपवाडा, बारामुला, उरी र अखनूर क्षेत्रमा गोलाबारी गरेको छ । भारतीय सेनाले पनि त्यसको जवाफमा कारबाही गरेको छ । हालसम्म कुनै पनि मानव क्षतिको समाचार आएको छैन ।
यसअघि भारतले मंगलबार राति १:०५ बजे पाकिस्तान र पाकिस्तान अधिकृत कश्मीर (PoK) मा एयर स्ट्राइक गरेको थियो । उक्त कारबाहीमा ९ वटा आतंकी ठेगानालाई लक्षित गरिएको थियो, जसमा १०० भन्दा बढी आतंकी मारिएकाे दाबी छ । यस हमलामा जैश-ए-मोहम्मदका प्रमुख मौलाना मसूद अजहरका १० जना परिवारका सदस्य र उनका ४ जना सहयोगी मारिएका छन् । भारतले कुल २४ वटा मिसाइल प्रहार गरेको हो ।
भारतले यो जवाफी कारबाही पहलगाममा भएको आतंकी हमलाको १५ दिनपछि गरेको हो र यसलाई ‘अप्रेशन सिन्दूर’ नाम दिइएको छ । यो नाम ती महिलाहरूको सम्मानमा राखिएको हो, जसका श्रीमानहरूलाई २२ अप्रिलमा पहलगाममा आतङ्ककारीहरूले हत्या गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अप्रेशन सिन्दूर’ मा संलग्न तीनवटै सेनाको प्रशंसा गर्दै भने, ‘यो नयाँ भारत हो । पूरा देश हामीतर्फ हेरेको थियो । यो त हुनु नै पर्ने थियो ।’
भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेल गरेअनुसार जम्मु-कश्मीरको पुंछ क्षेत्रमा नियन्त्रण रेखा (LoC) नजिक पाकिस्तानबाट भएको गोलाबारीमा १५ जना नागरिकको ज्यान गएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले संसदमा बोल्दै भारतको कारबाहीलाई ‘कायराना हमला’ भन्दै त्यसको बदला लिने चेतावनी दिएका छन् ।
१९७१ को युद्धपछि पहिलोपटक तीनवटै सेनाले संयुक्त कारबाही
भारतीय स्थलसेना, वायुसेना र जलसेनाले मिलेर पाकिस्तानका आतंकी ठेगानाहरूमा २४ वटा मिसाइल प्रहार गर्दै ‘अप्रेशन सिन्दूर’ सञ्चालन गरेका हुन्। १९७१ को युद्धपछि यो पहिलोपटक हो, जब तीनवटै सेनाले संयुक्त रूपमा पाकिस्तानविरुद्ध ठूलो सैन्य कारबाही गरेका छन् । प्रधानमन्त्री मोदीले यो अपरेसनका लागि सेनाहरूको खुलेर प्रशंसा गरेका छन् ।
एयर स्ट्राइक भएको करिब ९ घण्टापछि सरकार, सेना र एयरफोर्सका अधिकारीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएका थिए । देशको इतिहासमै पहिलोपटक आर्मीकी कर्नेल सोफिया कुरैशी र एयरफोर्सकी विंग कमान्डर व्योमिका सिंहले सञ्चारमाध्यमसमक्ष अपरेसनको विवरण सार्वजनिक गरेका थि ए। सो अवसरमा विदेश सचिव विक्रम मिस्री पनि उपस्थित थिए ।
अमेरिकाको प्रतिक्रिया- अब दुबै देश रोकिउन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको कारबाहीप्रति प्रतिक्रिया दिँदै भने, ‘यो निकै भयावह छ । मेरा दुबै देशसँग राम्रो सम्बन्ध छन् । म दुबैलाई राम्ररी चिन्छु । म चाहन्छु कि दुबै देश अब रोकिउन् । दुबैले ‘जस्तो गरे, त्यस्तै पाए’ शैलीमा कारबाही गरिसकेका छन् । यदि म कुनै सहयोग गर्न सक्छु भने सधैँ तयार छु ।’








