संसद्मा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज (बिहीबार) पनि बस्दैछ । संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे सुरू हुने बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि गत वैशाख २२ गतेदेखि निरन्तर छलफल हुँदै आएको छ । संघीय संसदको संयुक्त बैठकमार्फत राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सार्वजनिक गरेका नीति तथा कार्यक्रमको दोस्रो दिनदेखि नै प्रतिनिधिसभामा विभिन्न सांसदहरूले आ–आफ्ना धारणा राख्दै आएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूका जवाफ दिने र आगामी योजना स्पष्ट पार्ने उद्देश्यले आजको बैठक महत्वपूर्ण हुने अनुमान गरिएको छ । सांसदहरूले नीति तथा कार्यक्रममा समेटिएका विकास, समावेशीता, रोजगारी, सुशासन तथा संघीयता कार्यान्वयनका विषयमा विशेष जोड दिँदै आलोचना तथा सुझाव दिएका छन् ।








