विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै विपद् व्यवस्थापन प्राधिकरण

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनको सचेतना जगाउन मुख्यमुख्य पाँच भाषामा सन्देशहरु निर्माण गर्ने बताएका छन् ।
बुधवार सिंहदरबारमा आयोजित तातो हावाको लहर ‘लू’ को प्रभाव र पूर्वतयारी विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जुन ठाउँमा कर्मचारी कार्यरत हुन्छ् त्यहीँ त्यहीँ ठाउँमा विपद् व्यवस्थापन पूर्वतयारीका सन्देशहरु प्रवाह गर्न निर्देशन दिए ।
उनले हाल सामान्य वर्षा भइरहे पनि वर्षा रोकिएको केही दिनमै तातो हावा चल्न सक्ने भएकाले सजगता अपनाउनुपर्ने बताएका हुन् ।
उनले लूका कारण तराईमा पशुचौपाया मर्ने गरेकोप्रति विशेष ध्यान दिनुपर्ने बताए । पशुचौपाया मर्दा किसानले बिस्तारै पशुपालन छोड्न सक्ने भएकाले किसानको क्षतिपूर्ति र राहतका लागि पशु तथा कृषि बीमाको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
उनले विपद्का सबै क्षेत्रलाई बीमाको दायरामा ल्याउन बीमा कम्पनीहरुसँग सरकारले मध्यस्तता गर्नुपर्ने बताए ।
कार्यकारी प्रमुख भट्टले तातो हावाका लहर लू तराई क्षेत्र हुँदै दिपायल, दाङको तुलसिपुर लगायतका उपत्यकाहरुमा पनि शुरु भइसकेकाले सजग हुनुपर्नेमा जोड दिए ।








