महानगर निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहन्छ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहेको बताएका छन् ।
निजी क्षेत्रका प्रतिनिधिसहितको बैठकमा उनले सबैको सहकार्यबाट नै देशभित्र रोजगारीको सम्भावना खोज्न सकिने र त्यसका लागि महानगर मिलेर अगाडि बढ्न तयार रहेको बताएका हुन् । उनले भने, “सहकार्यमा एकता हुन्छ, यसैबाट निराश भएका युवामा आशा जगाउन सकिन्छ । यो रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ ।”
महानगर प्रमुख शाहले यस वर्ष पनि आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा सीप मेला सञ्चालन गर्ने तयारी रहेको र महानगरले वर्षभरि नै सीपमूलक तालिम सञ्चालन गरिरहेकोबताए । यस्ता तालिमबाट मानव पुँजीका रूपमा उत्पादन भएका जनशक्तिलाई रोजगारमा आबद्ध गराउन निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य अगाडि बढाइएका उहाँले बताए ।
निजी क्षेत्रका प्रतिनिधिहरूले महानगरले गत वर्ष सञ्चालन गरेको ‘सीप मेला २०८१’ ले सीपयुक्त जनशक्ति र रोजगारदाता दुवै पक्षलाई पुलको काम गरेको धारणा राखे । उनीहरूले उद्योग क्षेत्रले भोगिरहेको जनशक्ति समस्या कम गराउन मेला उपयोगी भएको बताए ।
“नेपालमा डकर्मी, सिकर्मी, कपाल काट्ने, प्लम्बिङलगायत कामका लागि युवाहरूमा तत्परता देखिँदैन । यही काम विदेशमा गएर सजिलै गर्छन् । यस कारण यी पेसाहरूमा आकर्षण बढाउनुपर्छ । यी तुरुन्तै रोजगारी दिन सकिने ठाउँ हुन्”, निजी क्षेत्रका प्रतिनिधिहरूले भने ।
बैठकमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि केसीलगायतले आफ्नो धारणा राखेका थिए ।
कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले गत वर्ष सम्पन्न गरिएको मेलाका बारेमा जानकारी दिँदै त्यस बेला दुई हजार ८१ लाई तालिम दिने लक्ष्य राखिएकामा दुई हजार ७२५ जनालाई तालिम प्रदान गरिएको बताए ।
मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यस बेला ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए ।










