मुलुकलाई अस्थिरताको दुष्चक्रबाट मुक्त गर्नुपर्दछ : सूर्य थापा

काठमाडौँ । सांसद सूर्य थापाले नेपाललाई अस्थिरताको ऐतिहासिक दुष्चक्रबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद थापाले राजनीतिक अस्थिरताका रूपमा प्रकट भएको अभ्यासलाई इङ्गित गर्दै अस्थितरताको ऐतिहासिक दुष्चक्रबाट मुक्त गर्नुपर्ने बताएका हुन् ।

“नेपालमा छ महिना, सात महिना, नौ महिना वा १०/११ महिनामा सरकार परिवर्तन हुने, बदलिने खराब बानी लागिरहेको सर्वविदितै छ, विसं २००७ पछि हालसम्म तीनचार वटा सरकारले मात्र साढे तीन वा तीन वर्ष समय काम गर्न पाएका छन”, सांसद थापाले भने, “अन्यथा विसं १८२५ मा काठमाडौँ एकीकरण भएयताको २५७ वर्षमा न भारदारकाल, न राणाकाल न राजतन्त्रकाल न प्रजातन्त्रकाल न लोकतन्त्रकाल न गणतन्त्रकाल कुनैमा पनि स्थिरताको अनुभूति हुने खालको अवस्था रहेन ।”

सांसद थापाले त्यही अनुभव र बानीको छायाँ प्रतिछायाँ आज दैनन्दिन राजनीतिक व्यवहारमा छचल्किने गरेको बताए । “विसं २००७ मा प्रजातन्त्र त आयो, आधुनिक नेपाल निर्माणको क्रम सुरु भयो, तर त्यसपछि स्थिरता झन सङ्कटमा प¥यो”, सांसद थापाले भने “सुरुमा आन्दोलनको नेतृत्व गरेका बीपी कोइराला र मात्रिकाप्रसाद कोइरालाबीचको हानथाप र झगडा लगाएर खेल्दै÷खेलाउँदै अन्ततः २०१७ साल पुस १ को कालो काण्ड रचियो र ३० वर्ष लामो पञ्चायती कालरात्रिमा पनि कुनै स्थिरता भएन ।”

उनले तासको पत्ता फेरिएजस्तो सरकार र प्रधानमन्त्रीहरू फेरेको र बितेको ७५ वर्षमा नेपालका कुनै पनि प्रधानमन्त्री र तिनको नेतृत्वका सरकारले पाँच वर्ष पूरा अवधि सरकार चलाउन नपाउनु÷नदिनु एउटा राष्ट्रिय लज्जाको दृष्टान्त भएको अवगत गराए ।

सांसद थापाले भने “स्थिरताको अभावमा दिगो विकास, पद्धति निर्माण र राष्ट्रिय एकताको आवश्यकता सम्बोधन र सुशासन सम्भव हुँदैन÷भएन, यो हामी नेपालीहरूले व्यवहारमा भोगिरहेको कटु यथार्थ हो ।”

देशमा सङ्ख्यात्मक हिसाबले बलियो सरकार रहेको र दुई ठूला पार्टी र अन्य पार्टीहरू मिलेर पालैपालो नेतृत्व गर्ने घोषणाका साथ सरकार बनेर सहमतिमा काम अघि बढिरहेकामा सरकारको नीति तथा कार्यक्रम आइसकेको उल्लेख गरे । तर दिनहुँ सरकारविरुद्धका चलखेल जारी रहेको उनको भनाइ छ ।

“आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकेँ, अब रहँदैन जस्ता वक्तव्यबाजीहरूले हरेक दिन मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण हुनेक्रम जारी छ”, उनले भने “तर सरकार अघि बढिरहेको छ, त्यस्ता वक्तव्य र झुटा बकवासहरू निरर्थक सावित भएका छन्, त्यस्तो बोल्ने नेतृत्वलाई कति वटा जिब्रो भएका र अहोरात्र कति झुटो बोल्न सक्ने काबिल नेता मानेर सुनिरहनुपर्ने हो हामी नेपालीहरूले ?”

सांसद थापाले पछिल्लो २० महिनाको शासन आफुहरुले देखेको उल्लेख गर्दै भने “पाकिस्तानी मोडलको अभ्यास त्यतिखेर नथालिएको होइन, फायल खोल्ने हुँकार गरिएको थियो ? त्यसको हविगत के भएको छ ? नदेखिएको होइन, त्यसको भोगाइ आज भद्र बन्दीगृहमा टोपबहादुर रायमाझी माननीयले भोग्नु पनि भइरहेको छ ।”

उनले कुशासनका अनेक रूप त्यसरी प्रकट भएकै देखिएको र सुन तस्करीले सिङ्गो देश ‘पहेलपुर’ भएकै अवस्था रहेको बताए । “म के भन्न चाहन्छु भने भर्खरै २५ करोड युरो र डलरसहितको ट्रक पक्राउ भयो, त्यो ट्रक कसको थियो र त्यसमा संलग्न कसका कार्यकर्ता थिए”, सांसद थापाले भने “त्यो लक्षित छैन र ? थाहा छैन र ? अनि छटपटी कता भइरहेको छ, त्यो पनि जानकारी छैन र ?”

उनले लुटपाट र आगजनीबाट मुलुक नबदिने र व्यवस्था बियर चोरेर नबदलिने स्पष्ट पार्दै त्यसरी सपना नदेख्न र निंद्राबाट बिउँझिएर यथार्थलाई आत्मसात् गरेर अघि बढ्न आग्रह गरे । उनले भने “कम्तीमा छिपछिपे सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्नो सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुस् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =