भारतले सिन्धु जल सन्धी रद्द गर्दै चेनाब नदीको पानी रोक्यो

काठमाडौं । भारतले पाकिस्तानसँगको दशकौँ पुरानो सिन्धु जल सन्धी रद्द गर्दै चेनाब नदीको पानी रोक्ने कदम चालेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, जम्मुस्थित रामवन क्षेत्रको बगलिहार बाँधबाट भारतले चेनाब नदीको प्रवाह नियन्त्रणमा लिएको छ ।
यसैबीच, भारतले कश्मीरस्थित किशनगंगा बाँधमार्फत झेलम नदीको पानी रोक्ने रणनीतिक योजना समेत अघि सारेको जनाइएको छ । यो कदमलाई पाकिस्तानसँग बढ्दो तनाव र प्रतिशोधको संकेतका रूपमा हेरिएको छ ।
भारतको पछिल्लो निर्णय अप्रिल २२ मा जम्मुकश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि आएको हो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै सिन्धु जल सन्धी निलम्बन गर्ने निर्णय लिएको हो ।
सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धीले भारत र पाकिस्तानबीच बहने प्रमुख नदीहरू सिन्धु, झेलम, चेनाब, रावी, व्यास, र सतलजको पानी उपयोग सम्बन्धमा स्पष्ट व्यवस्था गरेको थियो । सन्धिअनुसार भारतले पूर्वी नदीहरूको प्रयोग गर्न पाउने र पाकिस्तानले पश्चिमी नदीहरू विशेषतः सिन्धु, झेलम र चेनाब प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो ।
भारतको यो कदमले दक्षिण एशियामा जल संसाधनसँग सम्बन्धित राजनीतिक तनावलाई नयाँ उचाइमा पुर्याउने सम्भावना देखिएको छ । विश्लेषकहरूका अनुसार, जल संकटसँगै दुई परमाणु शक्तिधारी देशबीचको सम्बन्ध अझ चिसिन सक्ने खतरा बढेको छ ।








