इटहरीमा ग्याङ फाइट, एक जनाको घाँटीमा हतियार प्रहार, दुई जना घाइते

काठमाडौं । इटहरीको तरहरामा ग्याङ फाइट भएको छ । आइतबार बिहान करिब १० बजेतिर ग्याङ फाइट भएको हो ।

फाइटमा एक युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको छ भने अर्का युवकको टाउकोमा चोट लागेको छ ।

स्थानीय आकाश गिरी तरकारी किन्नका लागि पसल गएका थिए । सोही मौकामा छोपेर इटहरी २० तरहरास्थित धनपुरी मार्ग बस्ने सुशानजङ्ग घिमिरेको समूहले उनीमाथि आक्रमण गरेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार झगडामा दुई जना घाइते भएका छन् ।

इटहरी २ घर भएका २५ वर्षीय पारस भनिने किरण राईको घाँटीमा चोट लागेको डिएसपी भण्डारीले जानकारी दिए । उनको अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यसै गरी इटहरी २० तरहरा घर भएका अन्दाजी ४० वर्षीय वीरेन (बाबु) बुढाथोकीको टाउकोमा चोट लागेको छ । उनको इटहरीमा सामान्य उपचारपछि थप उपचारका लागि आफन्तको जिम्मामा विराटनगर पठाइएको डिएसपी भण्डारीले जानकारी दिए ।

यद्यपि, दुवै घाइतेलाई प्रहरीले निगरानीमा राखेको छ ।

घटनामा इटहरी २० बस्ने १९ वर्षीय सुशानजङ्ग घिमिरे, इटहरी २ बस्ने २३ वर्षीय अरुण राई, इटहरी २ बस्ने नितेस बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘पुरानो रिसिइबीका कारण दुई समूहबिच झडप भएको देखिन्छ,’ डिएसपी भण्डारीले भने, ‘दुवै घाइतेमाथि डिटेलमा बुझ्न नपाएका कारण र थप अनुसन्धान भई नसकेकाले ठ्याक्कै के कारण घटना भएको भन्न सकिन्न ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 13 =