नविकरण हुन नसक्दा दुई हजार एम्बुलेन्स थन्किए

चितवन । नविकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन् ।
स्वास्थ्य ऐन २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नविकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन् ।
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्था बाहेकले सञ्चालन गरेका एम्बुलेन्स नविकरण भएका छैनन् । यो सङ्ख्या अरू थप एक हजार ५०० रहेको उनले जानकारी दिए ।
देशभरमा छ हजार हाराहारी एम्बुलेन्स रहेको तथ्याङ्क छ । ती मध्ये स्वास्थ्य सङ्घ संस्थाले सञ्चालन गरेका एम्बुलेन्स नविकरण भएका छन् भने गैर सरकारी संस्था र नीजि क्षेत्रले सञ्चालन गरेका एम्बुलेन्स सञ्चालन हुन नसकेका हुन् ।
ऐन आएदेखिनै निरन्तर रूपमा संसोधनका लागि सरकारी तवरमा पहल गर्ने काम भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए ।
पूर्व स्वास्थ्य मन्त्री डा सुधा शर्मालाई समेत उक्त समस्याबारे अवगत गराएको अध्यक्ष लामिछाने बताउछन् । नयाँ सरकार गठन भएपछि स्वास्थ्य मन्त्रीसमक्ष आफ्ना समस्या राख्ने तयारीमा आफुहरु रहेको उनको भनाइ छ ।
ऐन संसोधन नभएमा धेरै एम्बुलेन्स थन्किने र आम नागरीकले सहज रूपमा सेवा पाउन कठिन हुने उनले बताए ।
अध्यक्ष लामिछानेले भने, ‘मानवतासँग प्रत्यक्ष जोडिएकाले यस विषयलाई नयाँ सरकारले गम्भिरताका साथ हेर्नुपर्छ ।’ यसबाट चालकको रोजगारी समेत गुमेको उनले बताए ।








