कम्पनी, उद्योग नविकरण गर्ने प्रचलन हटाऔँ : गोकर्ण अवस्थी (भिडिओ)

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक (डिजी) गोकर्ण अवस्थीले नेपालमा लगानी बढ्न नसक्नुको मुख्य कारण राजनीति अस्थिरता रहेको बताएका छन् ।

आफूहरूले गरेको सर्वेक्षणमा ८० प्रतिशतले राजनीति अस्थिरताका कारण लगानी नबढेको पाएको बताएका हुन् । आइबीएन मिडियाले आइतबार काठमाडौँमा आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा उनले लगानी बढाउन राजनीतिक स्थायित्व जरुरी हुने बताए । उनले अहिलेको राजनीति परिस्थिति, संविधान अनुसार राजनीतिक हुन नसक्ने स्थिति रहेको बताए ।

उनकाअनुसार आर्थिक सुधार आयोगको प्रतिवेदनलाई आधार मानेर बजेट आयो भने प्रभावकारी हुनेछ । रोजगारी दशक भनेर नीति तथा कार्यक्रममा आएको बताउँदै लगानी नभई रोजगारी कसरी हुन्छ भन्दै अवस्थीले प्रश्न गरे । सरकारले दिएको रोजगारी ५ लाखलाई मात्रै रहेको बताउँदै उनले बाँकी रोजगारी निजी क्षेत्रबाट सिर्जना भएको बताए ।

सरकार–निजी क्षेत्रबाट सिर्जना गरिएको रोजगारीले समेत नपुगेर नेपालीहरू विदेशमा गएर पसिना बगाउनुपरेको उनको भनाई छ । रोजगारी सिर्जना गर्नका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुको विकल्प नरहेको उनको भनाई रहेको छ । उनले लगानी दशक भनिरहँदा लगानीसम्बन्धी कानुनहरूलाई सामयानुकुल बनाउन जरुरी रहेको बताए । अध्यादेशबाट ल्याइएका कानुनहरू कतिपय संसदबाट पास भएपनि नियमावली कार्यविधि समयमै नआउँदा अलपत्र जस्तै भएकाले छिटो बनाउनुपर्ने उनको भनाई छ ।

उनले भने ‘राजनीति स्थायित्व हुन जरुरी छ । यसपटक हामीले सर्वेक्षण गरेका छौँ । झन्डै ८० प्रतिशतले नेपालमा लगानी नहुनुको कारण राजनीतिक अस्थिरता भनेका छन् । अहिलेको राजनीति परिस्थिति, संविधानअनुसार राजनीति स्थीरता हुन सक्दैन । नीतिगत स्थीरताका लागि केही ठोस कदम यसपालिको बजेटबाट आउनुपर्छ ।’

बजेटमा सुझाव दिँदै अवस्थीले वन, भूमिसम्बन्धी कानुनलाई एकीकृत गर्दै सरकारले व्याख्यात्मक टिप्पणीसहित अघि बढाउनुपर्ने बताए । उद्योग विभाग, लगानी बोर्डजस्ता निकायबाट हुने कामलाई एकीकृत गर्दै त्यस्तो खालको इकाई बनाउन जरुरी छ । निर्णयका लागि बोर्ड चाहिने उनको भनाई छ ।

उनले भने ‘सरकारी अधिकारीहरू मसि चोब्न डराएकै स्थिति हो । चाहे हामीले भनौँ नभनौँ, त्यो अवस्थामा बोल्ड डिसिजन लिएर गर्नसक्ने बोर्ड आवश्यक छ । बोर्डले नै निर्णय लिएर क्याबिनेटले पारित गर्नेसम्मका परियोजनाहरू अघि बढाइयो भने प्रभावकारी हुन्छ । होइन भने पुँजीगत खर्च बढ्न सक्ने देखिँदैन ।’

एकीकृत कानुन, एकीकृत निकाय, निर्णयका लागि शक्तिशाली संयन्त्र जरुरी रहेको उनको भनाई रहेको छ । उनकाअनुसार नागरिक एपमा बिजनेस आइकन थप्नुपर्छ । त्यसबाट व्यवसायी दर्ता गर्ने वातावरण बनाइनुपर्छ । व्यवसाय नविकरण गर्ने व्यवस्था हटाउनुपर्छ । किनभने करदाताले कर तिरिरहेको छ भने त्यसैलाई सरकारले नवीकरणका रूपमा लिनुपर्छ । अहिले बढीमा ७ ठाउँमा दर्ता गरेर कम्तीमा ४ ठाउँमा दर्ता गर्न जानुपर्ने अध्ययनबाट देखिएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =