प्रधानमन्त्री र मन्त्रीहरूको वैदेशिक भ्रमणबारे संसदीय समिति अनविज्ञ, माधव नेपालले गराए ध्यानाकर्षण

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूले वैदेशिक भ्रमणबारे पूर्वजानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै आपत्ति जनाएका हुन् ।
विश्व समुदायमा भइरहेका कतिपय घटनाहरूमा नेपाल समेत नेपालसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबारे समितिलाई जानकारी गराउन समिति सभापतिको ध्यानाकर्षण गराए । अध्यक्ष नेपालले कुनैपनि मन्त्री वा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जानुपूर्व जानकारी र आइसकेपछि ब्रिफिङ गर्ने कुरालाई अनिवार्य बनाउन समेत माग गरे ।
उनले भने ‘मन्त्रीज्युहरुको वैदेशिक भ्रमणहरू भइरहेको छ । तर यो समितिमा त्यसको बारेमा कुनैपनि जानकारी छैन । यस कुरामा समिति र समिति सभापतिज्यूको ध्यान जानुपर्ने आवश्यकता छ । हामीले पनि ताकेता गरेनौँ होला त्यो आफ्नो ठाउँमा छ । तर जानुभन्दा अगाडि र फर्किसकेपछि बोलाउनु होला र ब्रिफिङ सुनौँला जस्तो लागिरहेको थियो । अहिले धेरै अन्तर्राष्ट्रिय घटनाहरू घटिरहेका छन् । त्यसमा कतिपय विषयहरू नेपालसँग जोडिएका पनि छन् । यी सबै कुराहरू यो समितिलाई जानकारी हुनुपर्दछ । विभिन्न ठाउँमा हाम्रो संसदीय उपसमितिको टोलीहरू जानुभएको छ । त्यसक्रममा भएको भ्रमणको विषय पनि प्रतिवेदन आउनुपर्ने आवश्यकता पर्छ । तर हाम्रा मन्त्री र प्रधानमन्त्रीहरूको विदेश भ्रमणको बारेमा समितिलाई जानकारी गराउने कुरा अनिवार्य गराउनुपर्छ । यसको आवश्यकता उहाँहरूलाई पनि बोध गराउनुपर्छ ।’
उनले सौर्य जहाजको विषयमा सम्बन्धित मन्त्री र पीडित पक्षहरूबिच संसदीय समितिमा छलफल हुनुपर्ने बताए ।








