मकालुखबर विशेष: शनिवार प्रमुख दलका प्रमुख नेताहरू कसले के भने?

नेपालले अवलम्बन गर्ने आन्तरिक र बाह्य नीति प्रष्ट र सही छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रीकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको बताएका छन् ।
शनिवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालले अवलम्बन गर्ने आन्तरिक र बाह्य नीतिहरू प्रष्ट र सही भएको बताए । उनले नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्बन गर्दै आएको बताए । नेपालले शान्तिको पक्षमा विश्वमाझ वकालत गर्ने बताए । देशको सम्मान र हितलाई ध्यान दिएर छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने उनको भनाइ छ ।
उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रहित सबैभन्दा माथि रहेको बताए । उनले नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध पारस्परिक लाभ र सम्मानका आधारमा हुने बताए ।
उनले भने ‘जनतामा रहेको सार्वभौमसत्ता स्वाधीनता शक्तिका स्रोत नै जनता हुन् भन्ने मान्यता त्यसलाई सर्वोपरि राखेर देशको सार्वभौमसत्ता स्वाधीनता स्वतन्त्रता भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूलाई तलमाथि पर्न नदिई र त्यसो गर्दा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व जस्ता कुराहरू यी कुराहरूलाई नबिर्सीकन मानवतावादी बसुधैव कुटुम्बकम् भन्ने भावनालाई ध्यानमा राखेर मानवतावादी दृष्टिकोणका साथ अगाडि बढ्छौँ । हामी देशभित्र शान्तिको पक्षमा छौँ, बाह्य पनि शान्तिको पक्षमा छौँ । र मानवजातीले हासिल गरेका उपलब्धिहरूको न्यायोचित वितरण र वञ्चितहरूको पहुँच वृद्धि हुनुपर्छ भनेर हामी ठान्छौँ । यी कुरा हाम्रा फण्डामेन्टल कुराहरू हुन् । हामी सुमधुर छिमेक सम्बन्ध, फलदायी सम्मानजनक र लाभदायी अन्तर्राष्ट्रिय सम्बन्ध । पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सम्बन्ध राखेर अगाडि बढ्छौँ । हाम्रा आन्तरिक र बाह्य नीतिहरू सबै सुस्पष्ट र सही छन् । हामी संयुक्त राष्ट्र संघलाई अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबमा विश्व अर्डरको हिसाबमा, संयुक्त राष्ट्रसंघलाई केन्द्र भावका राखेर संयुक्त राष्ट्रसंघको मानव अधिकारको घोषणा पत्र र समानताका लागि विकासका लागि हामीले समानता शान्ति र विकासका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र अनुबन्धहरू गरेका छौँ, त्यसप्रति दृढ रहँदै मुख्यरुपमा संयुक्त राष्ट्र संघका मूल्य,मान्यताहरूलाई सर्वोपरि र केन्द्रभागमा राखेर हामी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्छौं । असंलग्न आन्दोलन आन्दोलनका सिद्धान्तलाई मानेर चल्छौँ सबैसँग मित्रता छैन कसैसँग शत्रुता हाम्रो नीति रही आएको छ ।’
प्रधानमन्त्री ओलीले मानवले हासिल गरेका पछिल्ला उपलब्धिहरूको न्यायोचित वितरण र वञ्चितहरूको पहुँच वृद्धि आधारभूत आवश्यकता भएको बताए ।
राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्याे : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको बागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरूको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गरे ।
उनले प्रतिगामी शक्तिहरूले पुनः चलखेल गर्नसक्ने भएकाले फेरि आन्दोलन गर्नुपर्ने आवश्यकता हुनसक्ने बताए । उनले पार्टीमा आबद्ध विभिन्न जातीय तथा क्षेत्रीय सङ्गठनहरूलाई शक्ति सञ्चय गर्न आग्रह गरे । उनले यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरुलाई संसद, सडक तथा जनताको माझमा गएर माओवादी केन्द्रले खबरदारी गरिरहेको बताए ।
प्रतिगमनकारी शक्तिलाई परास्त गरी जनताको ठूलो त्यागबाट प्राप्त संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मा आफूहरूकै भएको बताए । माओवादी केन्द्रले सञ्चालन गरेको गतिविधिबाट जनतामा आशा र भरोसा जगाएको उनको भनाइ छ ।
उनले भने ‘पार्टीको अभियानहरू, सम्मलेनहरु अधिवेशनतिर जाने प्रक्रियाहरू विभिन्न जातीय क्षेत्रीय मोर्चाका अधिवेशनहरू जनसङ्गठनहरू सबैमार्फत एउटा सवलरुपमा शक्ति सञ्चय गरेर शक्ति आर्जन गरेर जरुरी पर्याे भने ठूलो आन्दोलनमा देशलाई फेरि एकपटक लानुपर्ने जसरी यथास्थितिवादी र प्रतिगामीहरूले इतिहासलाई पछाडि फर्काउने हामीले प्राप्त गरेका उपलब्धिहरूलाई खोस्ने दुःसाहस गर्दैछन्, प्रपञ्च गर्दै छन् । त्यसलाई गतिलो जवाफ दिनुपर्ने आवश्यकता छ । अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ, जनताको बिचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ । हामी अभियानमा हुँदै गर्दा काठमाडौंमा जसरी राजावादीहरूको वितण्डा देखापर्न खोज्यो त्यसलाई एउटा जवाफ दिनैपर्छ भनेर अभियान रोकेर काठमाडौं आएर हामी सबैको सहभागितामा हामीले ठुलै धक्का दियौँ राजावादी वितण्डा र प्रतिगामी षड्यन्त्रका विरुद्ध जनताको ठूलो तागत र हाम्रो पार्टी र समाजवादी मोर्चाको तागतद्वारा त्यसलाई परास्त गर्यौँ अहिलेलाई । यो फेरिपनि वितण्ड गर्लान् तर त्यसलाई परास्त गर्ने जिम्मा पनि हाम्रो नै छ । समग्रमा हाम्रो गतिशीलता धेरै नै बढेको छ । जनतामा हामीप्रतिको आशा पनि धेरै बढेको छ ।’
अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएपछि विभिन्न जनवर्गीय सङ्गठनहरूसँग पार्टीको सम्बन्ध कमजोर हुँदा पार्टी कमजोर बन्न पुगेको बताए । उनले माओवादी पार्टी कमजोर हुँदा संघीय गणतन्त्र धरापमा पर्नसक्ने कुरा पहिल्यै अनुमान गरेको जिकिर गरे । उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा संघीय गणतन्त्रलाई बलियो बनाउन भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको दाबी गरे ।
उनले भने ‘हामीले हाम्रो समीक्षामा के कुरा गयौँ भने हाम्रो विचारलाई हाम्रो राजनीतिक एजेन्डालाई हाम्रो वर्ग र समुदायलाई जति दरोसँग हामी शान्ति प्रक्रियामा आएपछि पनि उनीहरूसँग सबन्ध बनाइ राख्नुपर्ने थियो, उनीहरूलाई गतिशील गरिराख्नुपर्ने थियो । उनीहरूको भूमिकालाई सबैतिर स्थापित गरिराख्नुपर्ने थियो त्यहाँ हाम्रो कमी भयो । र यो कमीको परिणाम माओवादी पार्टी र आन्दोलनका एजेन्डाहरू कमजोर पर्न गए, यो महसुस हामीले गर्याैँ । मैले पछिल्लो पटक सरकारको नेतृत्व गर्नु अगाडि नै यी विषयमा विचारमा पनि कहीँ न कहीँ कमजोर भएको महसुस गरियो । राजनीतिक एजेन्डामा पनि वर्ग समुदायमा पनि समीक्षा नगरीकन र यथास्थितिलाई तोडेर नयाँ ढंगले जनसम्पर्क नगर्ने हो भने हाम्रा हजारौँ शहीद, अपाङ्ग घाइतेहरूलगायतको योगदानले प्राप्त गरेको समावेशी समानुपातिकसहितको गणतन्त्र संघीयता पनि धरापमा पर्न सक्छ भन्ने महसुस लिडरसिपको हैसियतले मलाई दुई ढाइ वर्ष अघि नै गहिरो गरी भएको थियो । त्यसकारण एउटा संकल्प हामीले गर्याैँ नेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त छ, हामीले केही जनतामा आशा जगाउने रेकर्ड बनाउनैपर्छ भनेर भ्रष्टाचारका विरुद्धको अभियान सचेतरुपले छेडेकै हो । सुशासनको पक्षमा रेकर्ड बनाउने गरी काम गरिएको हो । सामाजिक विभेदको एउटा युद्ध फेरि नयाँ आन्दोलन गर्नुपर्छ छेड्नु पर्छ भनेर नै सामाजिक न्यायको कुरा उठाइएको हो ।’
अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने र समाजवादी क्रान्तिको आधार तयार पार्ने बताए । पार्टीलाई बलियो बनाउन आफू रातदिन विभिन्न अभियानमार्फत जनतासँग जुटेको उनको भनाइ छ ।
नीति तथा कार्यक्रम कार्यान्वयन प्रक्रियामा चुक्नु हुँदैन : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएका र अब कार्यान्वयन प्रक्रियामा चुक्न नहुने बताएका छन् ।
आज पत्रकारसँग कुराकानी गर्दै उनले नीति तथा कार्यक्रम राम्रो ल्याउने तर कार्यान्वयनका पक्षमा काम गर्न नसक्ने पहिलेदेखि नै सरकारको कमजोरी भएको बताए ।
डा कोइरालाले भने ‘नीति तथा कार्यक्रम राम्रो छ तर कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ । सधैँ नीति तथा कार्यक्रम कार्यान्वयन फितलो हुँदा समस्या हुने गरेको छ । अब यसलाई कार्यान्वयन गर्नेगरी बजेटमा आउनुपर्छ ।’
फरक प्रसङ्गमा उनले कांग्रेसको १५औँ महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताए । महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने र गुटको अन्त्य गर्ने भन्दै महाधिवेशन पछि सार्नुको कारण नरहेको बताए । नेता डा कोइरालाले अधिवेशनले पार्टीलाई जुझारु बनाउने भन्दै उनले हाल भ्रातृ संस्थाको अधिवेशन नहुँदा पार्टी शिथिलतातर्फ गएको छ भने ।
आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ : उपप्रधान सिंह
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम राजनीतिक आर्थिक सामाजिक गतिविधि बढाउने गरी आएको बताएका छन् ।
स्यस्य समाज यलको ११औँ स्थापना दिवसका अवसरमा आज मङ्गलबजारमा आयोजित नगरपरिक्रमा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार ठूलो सङ्घर्ष र बलिदानीबाट जारी भएको संविधान कार्यान्वयन तथा नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए ।
‘हरेकको जीवन सहज र सफल होस् भन्दै राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान सरकार गठन भएको हो, धेरै सङ्घर्ष गरेर प्राप्त गरेको संविधानअनुसार अभ्यास गर्न पाएको कुरा भुल्नुहुँदैन’ उनले भने ।
उनले हरेक जातजातिको सहभागिताबाट समाजमा परापूर्वकालदेखि पुर्खाहरुले मिलेर समाजलाई अगाडि बढाउन गरेको योगदान र देखाएको सकारात्मक कुरालाई निरन्तरता दिन स्यस्य समाजले उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले विभिन्न भाषाभाषी भएको नेपाली समाजमा सबैलाई समेटेर योगदान र मूल्य–मान्यताको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
‘काठमाडौँ उपत्यकाका सबै जातीय समुदायले एकताका साथ काम गर्न सक्नुपर्छ, एक्लाएक्लै काम गरेर समाजको एकता कायम हुन सक्दैन, समुदायमा जुनसुकै विद्यामा उल्लेख्य काम गरेकालाई सम्मान गर्ने परम्परा कायम राख्नुस्, सहिष्णुता कायम गरेर समाजमा उल्लेख्य काम गरेकालाई सम्मान गर्नुस्’, उनले भने ।
स्यस्य समाजका अध्यक्ष नवीनमङ्गल जोशीले स्यस्य समाजले एकता, सद्भाव र सहिष्णुतालाई जोड दिँदै संस्कृति संरक्षणका लागि समाजले काम गर्दै आएको जानकारी गराए ।
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : डा. बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताएका छन् ।
शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्रमा दलहरू चाहिने तर राजनीतिक दलहरू स्वार्थ समूह बनिरहेको बताए । उनले लोकतन्त्रमा राजनीतिक दलहरू नै विचारका वाहक हुने बताए । उनले राजनीतिक दलहरूको प्रतिस्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे । उनले नेपालका राजनीतिक दलहरू नयाँ रहेको र दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सीमित रहेको बताए ।
उनले राजनीतिक दलहरूले सरकारलाई बिना लगानी सम्पत्ति आर्जन गर्ने माध्यम बनाएको बताए । राजनीतिक दलहरू विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुन नसकेको उनको भनाइ छ । दलीय आबद्धता अब नेपालका निम्ति ठूलो बाधक बनिरहेको जिकिर गरे ।
अध्यक्ष भट्टराईले भने ‘हाम्रा दलहरू चाहिन्छ । लोकतन्त्रमा दलहरू नै विचारका वाहक हुन्छन् । तिनको प्रतिस्पर्धाले नै लोकतान्त्रिक वातावरण बनाउँछ । लोकतान्त्रिक जगमा नै विकास हुन्छ भन्ने सामान्य विकासको नियम पनि हो । तर हाम्रा दलहरू भर्खर भर्खर बनेको हुनाले ती दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्ता बनेका छन् । जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, त्यसको दोहन गर्ने, छिटो सम्पत्ति आर्जन गर्ने । बिना लगानी सम्पत्ति आर्जन गर्ने, एउटा थलो जस्तो हाम्रो राजनीतिक दलहरू बनेका छन् । त्यसो भएको हुनाले राजनीतिक दलहरू भनेको विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुनुपर्छ । तर राज्य दोहनका साधन बनेका छन् । त्यसैले दलीय आबद्धता अब हाम्रो निम्ति असाध्यै ठूलो बाधक बनिरहेको छ ।’
अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रले साँच्चै नै गुणात्मक फड्को मार्ने हो भने गैरआवासीय नेपालीहरूको भुमिका अहं हुने बताए ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी नरहेको बताएका हुन् ।
उनले गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी गरे । उनले आफ्नो पार्टीलाई लाखौँको संख्यामा सहकारी संगठनमा आबद्ध व्यक्ति, एनजिओ, आइएनजिओमा संलग्न व्यक्तिहरूको साथ रहेको दाबी गरे । अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महसुस नगरेको बताए । पार्टीका कार्यक्रमहरूमा हरेक ठाउँमा हजारौँको संख्यामा जुलुस देखिएको बताए । अब नेकपा (एकीकृत समाजवादी) लाई अरु भन्दा ठूलो र शक्तिशाली बनाउने बताए । त्यसका लागि आफूले पाएको जिम्मेवारीमा जुट्न निर्देशन दिऊ ।
अध्यक्ष नेपालले भने ‘त्यतिखेर मात्रै आदिवासी जनजातिको मात्रै भोट,अझै म भन्छुस् हाम्रा साथीहरू लाखौँको संख्यामा सहकारी संगठनमा आबद्ध छन् । एनजिओ, आइएनजिओमा संलग्न छन् । तिनीहरूको लाखौँ भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन । सजिलै गरी अरूलाई हामीले उछिन्ने थियौँ । हामीसँग जनताको मतको कमी छैन । अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ । कालिकोट पुगेर आएँ । रासकोटमा पुगेर आएँ । हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवेशनमा मैले मान्छेको हजारौँको जुलुस कार्यक्रममा सहभागिता देखेँ । रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौँ, हजार मानिसको सहभागिता देखेको थिएँ । अनि मैले भनेँस् तराई होस्, पहाड होस्, हिमाल होस् हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ । यो पार्टीलाई अझै अगाडि बढाएर जाने हो । अरु पार्टी भन्दा शक्तिशाली बनाउने, त्यो तपाईँ हामीमाथि भर पर्छ । त्यसैले यो पार्टीलाई बलियो बनाउने काममा जुट्नुस्, यो पार्टीलाई गतिशील बनाउने काममा लाग्नुस् । जसले जे जिम्मा पाउनुभएको त्यसको जिम्मेवारी निभाउनुस् ।’
अध्यक्ष नेपालले गणतन्त्रका पक्षधरहरू फेरि पनि मिल्न जरुरी रहेको बताए । उनले कम्युनिष्ट पार्टीको क्रान्तिकारी धार हराउन नदिन नयाँ पार्टी गठन गरेको जिकिर गरे । आफ्नो पार्टी चुप लागेर बस्ने नभई गतिशीलता, क्रियाशीलतामा विश्वास गर्ने पार्टी भएको बताए ।
आरजु राणाको आग्रह- एनआरएनएभित्र राजनीति नगरिदिनुस्
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् ।
शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।
उनले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् । उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् ।
राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ रु भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनिन् ‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईँहरूले सहयोग गरिदिनुस् । हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन । तपाईँहरू त कहीँ लेभर गरेर पनि गर्नुभएको छ । एउटै जेनेरेशनभित्र तपाईँहरूले कति ठूलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनुभएको छ ।’
परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरू आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्वपूर्ण माध्यम रहेको उल्लेख गरिन् ।








