आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचन आउने कुराहरू कार्यनीति लक्ष्यहरू मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको बताए । तर निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरूलाई जिताउन सके संसदमा गएर पनि नौटङ्की सरकारको भण्डाफोर गर्न सकिने बताए । उनले जनताका आवाजहरू बुलन्द गर्नसक्ने र बहुमत ल्याएको खण्डमा जनताको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्ने बताए ।

सरकारले आगामी आर्थिक वर्ष २०८२—०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नौटङ्की मात्रै भएको जिकिर गरे । उनले नीति तथा कार्यक्रममा बोलिने कुरा बढी र गरिने कुरा कम रहेको बताए । वर्तमान संविधान पुँजीवादी भएको उल्लेख गर्दै आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न नसक्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने ‘चुनाव आउलान्, ती कार्यनीति लक्ष्यहरू हुन् । चुनाव नै हाम्रो लक्ष्य हुँदैन । तर चुनावमा बढी भन्दा बढी हाम्रा प्रतिनिधिहरूलाई जिताउन सक्यौँ भने त्यो संसदमा गएर पनि हामी यो नौटङ्की सरकारको भण्डाफोर गर्नसक्छौँ । र जनताका आवाजहरू त्यहाँ बुलन्द गर्नसक्छौँ । बहुमत ल्यायौँ भने हामी जनताको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्नसक्छौँ । जस्तो हिजो नीति र कार्यक्रम आयो, नौटङ्की मात्रै छ । खालि बोलिने कुरा मात्रै छन् त्यहाँ । तर गरिने कुराहरू बहुतै कम छन् । त्यसो हुनाले हामीले बोलिने पनि र गरिने पनि काम गर्नको लागि हामीले बहुमत ल्याउने प्रयत्न पनि गर्नुपर्छ । त्यसो गरेर मात्रै समस्यालाई बिस्तारै बिस्तारै समाधान गरेर अघि बढाउनसक्छौँ । हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायौँ । त्यो संविधानको धारा ३ मा हामीले एउटा महत्वपूर्ण कुरा राखेका छौँ । यो संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ । यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौैं ।’

पूर्वप्रधानमन्त्री खनालले राष्ट्रलाई एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । उनले वैज्ञानिक समाजवादले मात्रै नेपालमा अहिलेका समस्या समाधान गर्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =