नीति तथा कार्यक्रममा स्वर्णिम वाग्लेको प्रतिक्रिया- थाकेको अल्छी सरकारको बासी कार्यक्रम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले थाकेको अल्छी सरकारले बासी नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।
शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले विगतका सरकारले ल्याएको तर फेल भइसकेका कार्यक्रमहरू सरकारले दोहो¥याएको बताए । उनले नीति तथा कार्यक्रमलाई हावादारी कार्यक्रमको संज्ञा दिए । उनले संसारमा भएका विभिन्न परिस्थितिप्रति सरकार बेखबर जस्तो भएर नीति तथा कार्यक्रम ल्याएको बताए । उनले राष्ट्रपतिको स्वास्थ्यलाई ख्याल गरेर सरकारले छोटो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु सकारात्मक पक्ष भएको भन्दै व्यङ्ग्य गरे ।
उनले भने ‘एकदमै थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरू दोहोर्याएको छ । भूमि बैंकदेखि लिएर अन्य । नयाँ कुरा केही पनि छैन । अहिलेका प्रधानमन्त्रीज्यू २०७४ सालमा दुई तिहाइ सरकारको नेतृत्व गर्दै कम्तीमा पनि हावादारी कार्यक्रमहरूको पनि इम्याजिनेशन थियो क्या कल्पनाशीलता थियो, अहिले त हावादारी कार्यक्रमको पनि कल्पनाशितला देखिएन । यत्रो उथलपुथल भइरहेको छ, प्रशान्त महासागरको टापु जस्तो हामी चाहिँ देश दुनियाँमा के के भइरहेको छ भन्ने बारे कम्ल्पिएट्ली निरपेक्ष अनभिज्ञ नै भएर ल्याइएको जस्तो । अलगै दुनियाँमा छौँ जस्तो केही मतलबै छैन जस्तो भाछ । यसपालि मलाई खुसी चाहिँ के लागेको छ भने पोहोर २ सय भन्दा बुँदा राखेर बिचरा बिरामी राष्ट्रपतिलाई सकस दिएको थियो यसपालि उहाँको सुस्वास्थ्यको ख्याल राखेर अलि छोटो ल्याउनु भयो राम्रो पक्ष त्यतिमात्रै हो ।’
सांसद वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा आगामी सोमवारको संसद बैठकमा आफ्नो कुरा राख्ने बताए ।








